जनकपुरका अपाङ्गको पीडा : घरभाडा पनि दिदैन !


जनकपुरधाम, १८ मंसिर । धनुषाका अपांगता भएकाहरूले सरकार र समाज दुवैबाट विभेदमा परेको गुनासो गरेका छन् । २८औँ अपांग दिवस मनाउन जनकपुरधाम आएका फरक क्षमता भएकाहरूले आफूहरू बजारमा घरभाडासमेत नपाउने गरेको गुनासो गरेका हुन् ।

जनकपुरधाम १३ रामानन्द चौक घर भएका फरक क्षमताका शत्रुधन कर्णले समाजले अझै नराम्रो दृष्टिले हेर्ने गरेको बताए । उनले बजारमा घरभाडासमेत घरभेटीहरूले नदिने गरेको दुःखेसो पोखेका छन् ।

अपाङ समाज जनकपुरको अध्यक्षसमेत रहेका उनले अपांगता भएकाहरूले सम्मानजक बाँच्ने अधिकार अझै पाउन नसेको पनि बताए । उनले सरकारको रबैया ठीक नै नभएको बताए। उनले सरकारको सोच अपाङमैत्री हुनुपर्ने बताए ।

उनले भने, ‘घरपरिवार चलाउन मुस्किल परेको छ । हामी जस्ता अपाङहरूलाई राज्यले कम्तिमा रोजगार दिनुपर्छ । राज्यको हरेक निकायमा विशेष आरक्षणको व्यवस्था गर्नुपर्छ ।’

उनले अपाङहरूलाई दिने गरेको भत्ता वृद्धि गर्न सरकारसँग मागसमेत गरे । अपाङहरूलाई विभेद गर्नेलाई कडा कारबाही हुनुपर्ने नीति बनाएपछि मात्र समाजले हेर्ने दृष्टि परिवर्तन हुने उनको बुझाइ छ ।

यस्तै अर्का फरक क्षमताका जगदिस कुमार साहले विगत सात महिनादेखि भत्ता नपाएको पीडा सुनाए । उनले भने, ‘एक त थोरै रुपैयाँ दिन्छ। त्यो पनि समयमा पाइरहेका छैनौँ । भत्ता नगरपालिकाले किन नदिएको कुरा त नेता र नगरप्रमुखलाई थाहा होला ।’

जनकपुरधाम उपमहानगरपालिका १२ कुवाकी फरक क्षमताकी महिला राजकुमारी खत्बेले पनि सरकारमाथि आक्रोसित पोखिन् । उनले मात्र ६ सय रुपैयाँ भत्ता दिने गरेको भन्दै भत्ता बढाउनुपर्ने माग गरिन् । उनले भनिन्, ‘समाजको सोच अझै परिवर्तन हुन सकेका छैन । खुट्टाका कारण केही गर्न पाइदिनँ । अनी सबैले अपमान गर्छन् ।’

शत्रुधन, जगदिस र राजकुमारीजस्तै पीडा अन्य फरक क्षमताका मानिसहरू रहेको छ । नेताले चुनावका बेला ठूलोठूलो सपना देखाए पनि सत्तामा पुगेपछि बिर्सिने गरेकोसमेत उनीहरूको गुनासो गरेका छन् ।

प्रकाशित : २०७६ मंसिर १८, बुधबार ०२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ