जमानत जफतपछि सीके राउतले डाके केन्द्रिय कमिटी बैठक


जनकपुरधाम, २० मंसिर । डा. सीके राउत नेतृत्वमो जनमत पार्टीले केन्द्रिय कमिटिको बैठक डाकेको छ । मंसिर १४ गते भएको उपनिर्वाचनमा प्रदेश २ मा उम्मेदवारहरुको जमानत समेत जफत भएपछि समिक्षा गर्न उक्त पार्टीले केन्द्रिय कमिटिको बैठक डाकेको हो ।

डा. राउतले सामाजिक संजालमार्फत मंसिर २७ गते पर्साको बीरगन्जमा केन्द्रिय कमिटिको बैठक बस्ने सूचना सार्वजनिक गरेको हो । सूचना अनुसार बैठक दुई दिनसम्म चल्नेछ । बैठक वीरगन्जमा बस्ने भनिएपनि ठाउँ भने तोक्न सकेका छैन् । बैठकमा सदस्यता वितरण गरिएको विवरण लिएर उपस्थित हुन समेत केन्द्रिय कमिटिका पदाधिकारीहरुलाई निर्देशन दिएको छ ।

डा. राउतले सामाजिक सञ्जाल मार्फत नै नगर, गाउँ र जिल्लामा बसेको समितिको रेकर्ड लिएर आउन पनि अपिल गरेका छन् । साथै सदस्यताको ठेली र समितिको रेकर्ड जिल्ला इन्चार्ज वा केन्द्रिय सदस्यहरुलाई दिन समेत कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले प्रस्ताव, सुझाव, गुनासो र समिक्षा केन्द्रिय समितिमा पेश गर्नलाई जिल्ला इन्चार्ज वा केन्द्रिय समिति मार्फत पठाउन पनि भनेका छन् ।

अलग मधेसको एजेण्डा बोकेर स्वतन्त्र मधेस गठबन्धनको नाममा राजनीतिक थालेका डा. राउत सरकारसँग ११ बुंदै सम्झौता गरे । त्यसपछि जनमत पार्टी गठन गरी निर्वाचन आयोगमा समेत दर्ता गराएर लोउस्पिकर (हर्न) चुनाव चिन्ह लिएर उपनिर्वाचनमा सहभागी भए । तर मधेसी जनताले उनको एजेण्डा अस्वीकार गरेको उपनिर्वाचनको मतपरिणामले देखाएको छ ।

डा. राउत सरकारसँग सम्झौता गरी अलग मधेसको एजेण्डा त्यागेपछि धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विक्री भएको बताइरहेका छन् । स्वतन्त्र मधेसको नारा लिएर उनको सभा र विभिन्न गतिविधिमा सहभागी भएपछि मुद्दा झेलेका पनि कैयौं कार्यकर्ता रुष्ट छन् । कतिपय नेता र कार्यकर्ता उनको साथ नै छाडिसकेका छन् । पछिल्लो समय मधेसमा उनको लोकप्रियता ह्वात्तै घटेको देखिन्छ ।

प्रकाशित : २०७६ मंसिर २०, शुक्रबार ०१:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ