सबैला नगरपालिकामा ‘बालश्रममुक्त अभियान’ शुभारम्भ


जनकपुरधाम, २५ मंसिर । धनुषाको सबैला नगरपालिकामा बालश्रममुक्त अभियान सुरु भएको छ । आसमान नेपालको सहकार्यमा नगरपालिकाले मंगलबारदेखि नै तीन वर्षे उक्त अभियान शुभारम्भ भएको नगर प्रमुख विजयशंकर प्रसाद साहले घोषणा गरे ।

‘सडक र नालालाई पक्की गरेर मात्र नगरको विकास हुन सक्दैन’ मंगलबार सबैलास्थित सरस्वति माविको समुन्द्री महतो स्मृति भवनमा आयोजित निक शिक्षा दिअ परियोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख साहले भने, ‘आसमान नेपालले ल्याइदिएको यो परियोजना सबैला नगरपालिकाको लागि ठूलो अवसर हो । यो अवसरको उपयोग गर्न सकिएन भने यो नगरको शिक्षा क्षेत्रमा कहिल्यै विकास हुन सक्दैन ।’

नगरपालिकाका शिक्षा शाखा प्रमुख (उपसचिव) भरतकाजी अर्यालले निक शिक्षा दिअ परियोजनाले सबैलाको शिक्षा सुधारमा ठूलो टेवा पुग्ने बताए । १६ जना जनशक्तिसहित नगरपालिकामा भित्रिएको उक्त परियोजना सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न भरपर्दो भरोसा दिलाएको बताउँदै यसमा सम्पूर्ण जनप्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे ।

‘नगरमा निर्वाचित जनप्रतिनिधिहरुका लागि वर्तमान कार्यकालमै शिक्षाको दृष्टिकोणले नगरपालिकाको नयाँ पहिचान बनाउन यो एउटा अवसर हो’ अर्यालले थपे, ‘यो अवसर गुम्न नदिन नगरप्रमुख, उपप्रमुख तथा वडा अध्यक्षलगायत सम्पूर्ण जनप्रतिनिधि जिम्मेवार हुनु आवश्यक छ ।’

कार्यक्रममा नगर प्रमुख साह, उपप्रमुख निलुदेवी कापर, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, शिक्षा शाखा प्रमुख अर्याल, शिक्षा अधिकृत रामदुलार यादव, स्वास्थ्य अधिकृत रामदुलार यादव, वडा अध्यक्षहरु कपिल राउत, प्रदिप महतो, विशेश्वर यादव, कुशेश्वर ठाकुर, परमेश्वर साह, सन्तोष साह, रामदेव सहनी र दुर्गा राय, आसमानका परियोजना प्रबन्धक दिलिप यादव, पालिका संयोजक सुरेश यादव लगायत सहभागी थिए ।

नर्वेजियन दुतावासको सहयोगमा आसमान नेपालले धनुषाका विभिन्न चारवटा पालिकामा उक्त परियोजना लागु गरेको छ । सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, लक्ष्मीया गाउँपालिका र नगराइन नगरपालिकामा तीन वर्षसम्म चल्ने परियोजनाका लागि करिब १२ करोड रुपैयाँ विनियोजन भएको परियोजना प्रबन्धक यादवले जानकारी दिए ।

यो परियोजनाले सम्बन्धित पालिकासँग सहकार्यगरी तीन वर्षभित्र बालश्रम मुक्त पालिका घोषणा गरी बालमैत्री पालिका निर्माणका लागि उपयुक्त वातावरण निर्माण गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

प्रकाशित : २०७६ मंसिर २५, बुधबार ०३:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ