धनुषा बम काण्डका घाइतेको बयान : …अनि पड्कियो त्यो रातो झोला


धनुषा, २८ मंसिर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५, महेन्द्रनगर बजारस्थित राजेश्वर साहको परिवार शुक्रबार राति खाना खाएर सुतिसकेको थियो । राति साढे ११ बजेतिर घरका कोही एकजना शौचालय जान उठ्दा घरको गेटमा रातो झोला देखे । त्यसपछि साह परिवारमा हल्लाखल्ला भयो । सबै जना उठे र डरले घरै खाली गरेर बाहिर निस्के ।

घरमूली राजेश्वर दुईरतीन सय मिटर टाढाको इलाका प्रहरी कार्यालय (सखुवा) पुगे, प्रहरीलाई खबर गर्न । परिवारका अन्य सदस्य केही पर रहेको आफ्नै अर्को घरमा गए ।

इलाका प्रहरी कार्यालय (सखुवा)बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर दाहालको नेतृत्वमा ३/४ प्रहरीको टोली घटनास्थल अर्थात् राजेश्वरको घर आइपुग्यो मध्यराति । इन्स्पेक्टर दाहालले राजेश्वरको घरको गेटमा रहेको रातो झोला हेरे । “अनि भने- ‘ए…यो केही होइन, डराउनु पर्दैन, आउनुस् सबै जना घरमा,” घाइते राजेश्वरकी १४ वर्षीया छोरी निक्की साहको भनाइ उद्धृत गर्दै राजेश्वरका सालो सुरेश साह सुनाउँछन् ।

प्रहरीले नै केही होइन भनेपछि, राजेश्वर परिवारका सबै सदस्य मूल घरमै फर्किए। त्यसपछि रातो झोलानजिक जाँदै इन्स्पेक्टर दाहालले घरमूली राजेश्वर साहलाई झोला खोल्न अह्राए । तर झोलानजिक पुग्दा नपुग्दै ठूलो आवाजमा त्यो विस्फोट भयो । र, राजेश्वर र उनका छोरा आनन्द ठाउँको ठाउँको ढले । बमको छर्राले लागेर इन्स्पेक्टर दाहालसहित प्रहरी जवान रिजन महतो, अनि घरमूली राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि गम्भीर घाइते भए ।

घटनामा राजेश्वकार बुवा भिखारी साह र अर्की छोरी निखी साह घाइते भएका छन्। भिखारीको जीउभरि छर्रा लागेको छ। प्रहरीकै लापर्बाही तथा अज्ञानताले ठूलो दुर्घटना भएको स्थानीय बासिन्दाको भनाइ छ। अहिले राजेश्वरको घरमा रुवाबासी छ। कोही बोल्न सक्ने अवस्थामा छैनन् ।

  • शैलेन्द्र महतो /नेपाल खबर
प्रकाशित : २०७६ मंसिर २८, शनिबार ०६:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ