पाकिस्तानी दूतावास जाने नेत्री यादवमाथि समाजवादी पार्टीले चलायो कारबाहीको डण्डा


काठमाडौं, २८ मंसिर । समाजवादी पार्टीले केन्द्रीय सदस्य रेखा यादवलाई कारवाही गर्ने भएको छ । पार्टीलाई जानकारी नै नदिइकन पाकिस्तानी दूतावासको एउटा कार्यक्रममा सहभागी भएको भन्दै रेखालाई कारबाही गर्ने तयारी गरेको हो ।

भारतले जम्मु काश्मिरमा लगाएको धारा ३७० खारेज गरेको विरोधमा नेपालस्थित पाकिस्तानी दूतावासले गत कात्तिक १४ गते दूतावासभित्रै कार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रममा समाजवादी पार्टीका नेतृ रेखा यादव सहभागी भएकी थिइन् । भारत–पाकिस्तानबीच भएको द्वन्द्वकै विषयमा भएको कार्यक्रममा उनी सहभागी भएको भन्दै पार्टीभित्रै विरोध भएको थियो ।

यसविषयमा मंसिर २६ गते बसेको पदाधिकारी बैठकले रेखा यादव पार्टीको नीति विपरित कार्यक्रममा सहभागी भएको ठहर गर्दै अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो । शुरुमा उनलाई स्पष्टीकरण सोधिने र त्यसपछि स्पष्टीकरणको जवाफको आधारमा कारवाही प्रकृया अगाडि बढाइने बैठकमा सहभागी एक नेताले बताए ।

यसअघि चीन विरोधी गतिविधिमा लागेको भन्दै सो पार्टीका नेतृ सुनिता साहलाई पनि समाजवादी पार्टीले कारवाही गरेको थियो । महिला बेचविखनमा चिनियाँको हात रहेको भन्दै सुनिता साह लगायतका युवाहरुले काठमाडौमा प्रदर्शन गरेका थिए ।

https://www.youtube.com/watch?v=ztsd_NrVVDM&t=3s

यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला पुनः विरोध गर्न सक्ने आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि समाजवादी पार्टी सप्तरीले एक विज्ञप्ति जारी गरी सुनिता साह पार्टीको नेतृ नरहेको दावी गरेको थियो ।

लाटभिया देशको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा पार्टीको नीति विपरित सहभागी भएको भन्दै समाजवादी पार्टी पर्साका अध्यक्ष एवं सांसद प्रदीप यादवलाई पनि गत असार १० गते पार्टीले ६ महिनाका लागि निलम्बन गरेको थियो ।

  • ratopati.com
प्रकाशित : २०७६ मंसिर २८, शनिबार १४:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ