५८ घण्टासम्म भोक हड्ताल बसेका मधेसी नेता विकास तिबारीको मृगौला फेल !


सप्तरी, २ पुस । पटक–पटक भोक हड्ताल बसेका पुराना मधेशी नेता विकास तिबारीको स्वास्थ्य अवथा बिग्रेको छ । उनको मृगौलामा अत्यधिक संक्रमण भएपछि उपचारका निम्ति धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका छन् ।

भ्रष्टाचारबिरुद्व तथा जनताले पाउनुपर्ने सेवासुविधा पूर्ण रुपमा दिनुपर्ने माग राख्दै तिबारी पटक–पटक भोक हड्ताल बसेका छन् । २०६९ सालमा २१ दिन लामो भोक हड्ताल बसेका तिबारी २०७३ सालमा १८ दिन लामो भोक हड्ताल बसे । त्यसअघि २०६८ सालमा प्रहरी हिरासतभित्रै ५८ घण्टासम्म भोक हड्ताल बसेका थिए उनी ।

भ्रष्टाचार गर्नेलाई कार्वाही गर्नुपर्ने, लोकसेवा आयोगका कार्यालयहरु मधेशका जिल्लाहरुमा पनि स्थापना गर्नुपर्ने सहितका माग राख्दै तिबारी २०६९ साल चैत र २०७० बैशाखमा २१ दिन भोक हड्तालमा बसेका थिए ।

यस्तै राजविराजस्थित सगरमाथा अंचल अस्पतालको अवस्था सुधार्नुपर्ने र जनताले निःशुल्क पाउनुपर्ने हरेक किसिमको औषधि दिइनुपर्ने माग राख्दै २०७३ साल मंसिरमा १८ दिन लामो भोक हड्ताल बसेका थिए । २१ दिनसम्म भोक हड्ताल बस्दा तत्कालिन मन्त्री उमाकान्त झाले उनीसँग सम्झौता गरेका थिए भने १८ दिने भोक हड्तालमा तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले सम्झौता गरेका थिए ।

राजविराज–भारदह सडक खण्डको निर्माणको माग गर्दै आन्दोलन गर्ने क्रममा पक्राउ परेका उनी जिल्ला प्रहरी कार्यालय, सप्तरीको हिरासतमै ५८ घण्टा भोक हड्ताल बसेका थिए । बारम्बार जनताको अधिकारका निम्ति भोक हड्ताल बसेका तिबारीले नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) को पनि स्थापना गरेका छन् ।

पछिल्लो केहि महिना यता पटक–पटक वाकवाकी लाग्ने, कमजोरी महसुस हुने अवस्था निरन्तर देखिपछि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा जचाउँन आएका थिए । त्यस क्रममा उनको मृगौलामै समस्या देखिएको र थप उपचारका लागि चिकित्सकले धरान जान सुझाव दिएका थिए । उनी धरान पुगे । यहाँका चिकित्सकले भर्ना हुने बताएको र त्यसका निम्ति रु १ लाख लाग्ने बताएको तिबारीले टेलिफोन सम्पर्कमा बताए ।

गत शुक्रबार नै उनी धरान गएपनि रकम नहुँदा पुनः घर फर्केर छिमेकीहरुसँग ऋण लिई उपचारका निम्ति आईतबारदेखि भर्ना भएका छन् । ‘व्यक्तिको मृगौलाको अवस्था १.३ मा नर्मल हुन्छ’ उनले भने, “मेरो मृगौलामा संक्रमण बढेर १.९ को स्थिति पुगेको छ ।”

उनले अस्पताल सुधारको माग गर्दै आफू भोक हड्तालमा बसेको बखत मुखबाट रगत आएको र त्यस क्रममा राजविराजका चिकित्सकले बढी पावर भएको एन्टिवायटिक स्लाइन चढाएकाले मृगौलामा समस्या आएको बताए ।

‘भोक हड्तालको १४ औं दिन मुखबाट रगत आएको थियो’ उनले भने, “त्यस बेला अत्यधिक पावरको एन्टिबायटिक स्लाइन चढाइएको चिकित्सकहरुले नै बताएका थिए ।”

बारम्बार भोको बस्नु र बढी पावरको एन्टिवायटिक चढाएका कारण मृगौलामा समस्या आएको बताउँदै उनी अहिले आर्थिक अवस्थाका कारण उपचारमा समस्या आइरहेको बताएका छन् ।

‘जसोतसो ऋण लिएर अहिले उपचार गराउन आएको छु’ उनले भने, “अब बाँकीको उपचार गराउन समस्या छ ।”

प्रकाशित : २०७६ पुष २, बुधबार ०२:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ