सिरहा अस्पतालमा निःशुल्क शल्यक्रिया सहितको प्रसुति सेवा सुरु


सिरहा, २ पुस । सिरहा अस्पतालले शल्यक्रिया (अप्रेशन)सहितको प्रसुति सेवा प्रारम्भ गरेको छ ।

चिकित्सकहरूले सिरहा नगरपालिका-२१ लगडीगोठका २० वर्षीया संजिला मुखियाको शल्यक्रिया गरी शिशुको जन्म गराएका छन् । सदरमुकाममा रहेको अस्पतालले पहिलो पटक औषधिसहितको निःशुल्क शल्यक्रिया सेवा शुरू गरेको हो ।

डा.अखिलेश चौधरीको नेतृत्वको नौजनाको टोलीले शल्यक्रिया गरी बच्चाको सकुशल जन्म गराउन सफल भएको सिरहा अस्पतालका प्रमुख डा.नागेन्द्रप्रसाद यादवले बताए ।

धेरै पहिलेदेखि सेवा शुरूआत गर्ने प्रयास गरेपनि ढिलागरी सञ्चालनमा आएको प्रमुख यादवको भनाइ छ । निःशुल्क सेवाले विपन्न गरीब परिवारलाई बढी राहत मिल्ने उनले बताए ।

डा. यादवका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि मंसीरसम्म पाँच महीनामा २११ जनाले सकुशल शिशुको जन्म दिएका छन् ।

‘नर्मल डेलिभरीको सेवा उपलब्ध थियो, अब जटिल अवस्थाका प्रसुतिलाई पनि सेवा लिन सहज भयो’, डा. यादवले भने ।

प्रकाशित : २०७६ पुष २, बुधबार ०३:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ