रौतहटमा पेस्तोलसहित तीनजना परे प्रहरी फन्दामा


रौतहट, २ पुस । रौतहटमा शसस्त्र प्रहरीले तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । बाराको सुवर्ण गाउँपालिका ६ का ३७ वर्षीय उमेश्वर यादव, रौतहटको परोहा नगरपालिका ६ का ३८ वर्षीय रामआधार साह र रौतहटकै परोहा नगरपालिका ४ का ६६ वर्षीय छोटेलाल साह पेस्तोलसहित पक्राउ परेका हुन् ।

बीआर ०५ एम ७३५३ नम्बरको भारतीय डिस्कभर मोटरसाइकलमा गौर नगरपालिकाको टिकुलिया जाँदै गर्दा राजपुर नगरपालिका ३ दमारबाट उनीहरु पेस्तोलसहित पक्राउ परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजीतले जानकारी दिए । उनका अनुसार उनीहरुको साथबाट कटुवा पेस्तोल थान १, सोमा लाग्ने ८ मिमिको बाल राउण्ड २ गोटासहित चक्कु दुई थान, सिमसहितको मोबाइल सेट तीन थान, ठूलो वायर कटर १ वटा¸ पेचकस १ वटा¸ पिलास १ वटा, भारतीय ५ सय रुपैयाँ र नेपाली पचास रुपैयाँ बरामद भएको छ ।

पक्राउ परेका तीनै जना कुनै ठूलै अपराध गर्ने लक्ष्यले हिँडेको हुन सक्ने अनुमान सशस्त्र प्रहरीको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मेवारी लगाएको सशस्त्र प्रहरी उपरीक्षक उपरीक्षक कर्णजीतले बताए ।

प्रकाशित : २०७६ पुष २, बुधबार ०९:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ