प्रदेश २ मा समाजवादी छाडेर राजपा–नेकपा गठबन्धनको सरकार बनाउने कसरत !


जनकपुरधाम, ४ पुस । राष्ट्रिय सभाको रिक्त १८ पदको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपाबीच भएको सहमतिपछि प्रदेश २ मा सत्ता समीकरण बदल्ने चर्चा सुरू भएको छ ।

विकासका सवालमा कमजोर सावित भइरहेका प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतलाई बदल्नुपर्ने मागबीच यो चर्चा सुरू भएको छ । नेकपा धनुषाका प्रभावशाली नेता लक्ष्मीनारायण भगतले आज बिहान सामाजिक सञ्जालमा एउटा भविष्यणी पोस्ट गरेका छन् ।

पोस्टमा लेखिएको छ– राष्ट्रिय सभा निर्वाचनपछि नेकपा सरकारको मन्त्रिमण्डलबाट उपेन्द्र यादवलाई हटाई प्रदेश २ मा नयाँ समीकरण हुनेछ ।

प्रदेश २ को विकासका लागि पनि यो एक मात्र विकल्प रहेको शिलापत्रसँगकाे कुराकानीमा उनले बताए । पत्रकार वीरेन्द्र रमणले सामाजिक सञ्जालमा लेखेका छन्– राजपा र नेकपाबीचको नयाँ सहमतिले राउत सरकार संकटमा पर्ने सम्भावना बढ्यो ।

सत्ता समीकरण बदल्ने विषय सामाजिक सञ्जालको चर्चा मात्रै हो कि यथार्थ पनि ? मधेश मामिलाका जानकार डा. राजेश अहिराज भन्छन्, ‘समीकरण त जस्तो पनि बन्न सक्छ तर यथार्थ के हो भने यो सानो तयारीका साथ भएको तालमेल होइन ।’

प्रदेश २ का नेकपाका नेता मात्र होइन, राजपा र समाजवादीकै अधिकांश नेताहरू भन्दैछन्, ‘राजनीतिमा न त कोही स्थायी शत्रु हुन्छ, न स्थायी मित्र नै, त्यसकारण समीकरण जुन बेला पनि परिवर्तन हुन सक्छ ।

प्रदेश २ मा कुल १०७ मध्ये नेकपा ३३, समाजवादी पार्टी २९, राजपा २५, नेपाली कांग्रेस १९ र नेपाल समाजवादी पार्टीको १ सिट छ । नेकपा र राजपा मिल्दा ५८ सिट हुनेछ ।

यो सत्ता समीकरणका लागि पर्याप्त सिट हो । अहिले प्रदेश २ मा राजपाको सहभागिता र समर्थनमा समाजवादी पार्टीका मुख्य मन्त्री छन् । प्रदेश २ को सरकार र केन्द्र सरकारबीच बेलाबखत विवाद उत्पन्न हुने गरेका छन् ।

प्रदेश सरकारले क्षेत्राधिकारको विषयलाई लिएर केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ । संघीयता कार्यान्वयनको चरणमै रहेको समयमा केन्द्र सरकारसँग खटपट गरिरहेको विषय नेकपाको नेतृत्व र सिंहदरबारले मन पराएको छैन ।

मुख्य मन्त्री लालबाबु राउतले केन्द्र सरकारविरुद्ध बेलाबखत आगो ओकल्ने गरेका छन् । यो पृष्ठभूमि जोड्दै राजपाका प्रभावशाली नेता राजु चौधरी भन्छन्, ‘धेरैले प्रदेश २ मा राजपा र नेकपाको संयुक्त सरकार छिट्टै बन्दैछ भन्दैछन् तर यो अलि हतारको विश्लेषण हुन सक्छ ।

संघमा सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बस्दै आएको मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमतिले नयाँ राजनीतिक ध्रुवीकरण भएकोमा भने धेरै नेता सहमत देखिन्छन् ।

राष्ट्रिय सभाका १८ सदस्यमा हुने निर्वाचनमा सहकार्य गर्नेसम्बन्धी दुईबुँदे सहमतिको एउटा बुँदामा राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ का चारवटै सिटमा भागबण्डा गर्ने उल्लेख छ ।

अर्को बुँदा अलि अमूर्त छ । साे बुँदामा भनिएको छ, ‘राष्ट्रिय राजनीतिका समसामयिक विषयहरूमा नियमित रूपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने ।’

प्रदेशका नेताहरू भन्दैछन्– ‘राष्ट्रिय राजनीतिमा त अन्य राजनीतिक दलले पनि सहकार्य गरिरहेकै छन तर सहमतिमै सहकार्यको बुँदा उल्लेख गरिनुले राजपा र नेकपाबीच नयाँ ध्रुवीकरणको संकेत गरेको छ ।

शिलापत्र डटकम

प्रकाशित : २०७६ पुष ४, शुक्रबार ११:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ