वीरगञ्जमा नक्कली घ्यू उद्योग संचालन भएको खुलासा, तीन जना पक्राउ


वीरगञ्ज, ७ पुस । वीरगञ्जमा रसायन प्रयोग गरेर नक्कली घ्यू उत्पादन गर्ने उद्योग फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घ्यू उत्पादन गर्दै आएको प्रहरीले फेला पारेको छ ।

प्रहरीले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घ्यू उत्पादनमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा पुगेको प्रहरीले रसायन प्रयोग गरी घ्यू उत्पादन गरेको भेटेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

एसपी राठौरका अनुसार, त्यसरी उत्पादित घ्यूमा पूजा, दुर्गा र गोकुल शुद्ध घ्यूको स्टिकर लगाएर बजारमा पठाउने गरेको भेटिएको छ । ‘नक्कली घ्यू उत्पादन गर्दै आएको सूचनापछि त्यहाँ पुग्दा रसायन प्रयोग गरेर घ्यू बनाउने गरेको पाइयो’, एसपी राठौरले भने, ‘नक्कली घ्यूमा पूजा, दूर्गा र गोकुल शुद्ध घ्यूको स्टिकर लगाएर बजार पठाउने गरिएको रहेछ ।’

प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ का अनिल श्रेष्ठ, सोही स्थानका रमेश श्रेष्ठ र भारत मोतिहारी पूर्वी चम्पारण थाना आदापुर ग्राम पोखरिया–१ बस्ने राम विलास यादवलाई प्रहरीले पक्रेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नक्कली घ्यू बनाउन प्रयोग हुने २९ कार्टुन डाल्डा घ्यू र बजार पठाउन तयार पारेर राखिएको ५२ कार्टुन नक्कली घ्यू प्रहरीले बरामद गरेको छ । नक्कली घ्यू बनाउन प्रयोग गरिंदै आएको भाँडाकुँडा, रसायन र लेबलिङका लागि राखिएका स्टिकर पनि प्रहरीले बरामद गरेको एसपी राठौरले जानकारी दिएका छन् ।

नयाँपेज

प्रकाशित : २०७६ पुष ७, सोमबार १३:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ