सिरहाको एक विद्यालय : जहाँ २ बजेपछि कोही भेट्दैन !


जयनाथ यादब / लहान, ११ पुस । सिरहाको भगवानपुर गाउँपालिका ४ स्थित ठाडी विश्वासपट्टी आधारभुत विद्यालयका शिक्षकहरुका कारण पठन पाठन अस्तव्यस्त बनेको छ । शिक्षकहरु न समयमा विद्यालय पुग्छन्, न पुरा समय विद्यालयमा बस्छन् । विद्यालयमा दिउँसो ५ बजेसम्म पठन पाठन हुनुपर्ने हो । तर २ बजेपछि यो विद्यालय पुग्दा कोही भेट्दैन ।

शिक्षकहरु प्रायः २ बजे हाफ टाइमपछि विदा दिने गर्छन् । कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् । तर शिक्षकको लापरबाहीले विद्यार्थीहरु पढ्न आउनै छाडेका छन् । नियमित रुपमा मात्र २० देखि ५० विद्यार्थी विद्यालय पुग्छन् । शिक्षकहरु भने चिसोका कारण विद्यार्थीहरु पढ्न नआएको बहाना बनाउँछन् ।

तर अभिभावकहरुले शिक्षकले आफैं विद्यालयमा पुरा समय नबस्ने गरेका र उपस्थित रहेका बेला पनि पठन पाठनमा ध्यान नदिँदा विद्यार्थीहरु विद्यालय जान छाडेको बताउँछन् । उक्त विद्यालयका छात्र–छात्राहरुले शिक्षक पुरा समय नपढाने गरेको गुनासो गरेका छन् । नाम नछापिदिने शर्तमा एक विद्यार्थीले भने, ‘सरहरु, विद्यालय आएपनि गफ दिएर बस्नुहुन्छ । तर पढाउँदैन । प्रायः टिफिनको समयमा विदा दिनुहुन्छ ।’

विद्यालयमा पुग्दा प्रधानाध्यापक रामचन्द्र साहले लापरबाहीबारे केहि बोल्न चाहेन । तर शिक्षक सुनिल कर्णले कति पत्रकार आइसक्यो भन्दै जथाभावी बोलेर कमजोरी लुकाउने प्रयास गरे । उनले आफूहरु समयमै विद्यालय आउने गरेको दावी गरे । समय अगावै विद्यालयमा छुटी दिने गरेको विषयमा उनले मौषम खराबका कारण कहिले काही सबेरै छुटी दिने गरेको भन्दै पन्छिने प्रयास समेत गरे ।

गाउँपालिकाका शिक्षा शाखा संयोजक जीवछ यादब स्थानीय शिक्षक रहेका कारण लापरबाही गर्ने गरेको बताए । ‘शिक्षा समिति भएको भए स्थानीय तहभित्र अन्य विद्यालयमा सरुवा पनि गर्न सकिन्थ्यो’, उनले भने, ‘तर अहिलेसम्म समिति नै बन्न सकेका छैन् ।’ गाउँका शिक्षकलाई सरुवा गरेपछि मात्र विद्यालय सुध्रिन सक्ने उनको भनाई छ ।

यता, गाउँपालिका अध्यक्ष बेचन यादबले पनि शिक्षकहरु लापरबाही गर्ने गरेको स्वीकारे । उनले त्यहाँका शिक्षकहरुको सरुवा गर्न जरुरी भएको पनि बताए । उनले दरबन्दी मिलान गर्न लागेको बताए । उनले स्थानीय शिक्षकहरु भएकाले सरुवाका लागि पहल गरेपनि शिक्षा समन्वय समितिले चासो नदेखाएको गुनासो पोखे । उनले लापरबाही गर्ने गरेकाले शिक्षकहरुलाई स्पष्टिकरण सोध्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : २०७६ पुष ११, शुक्रबार १०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ