राष्ट्रिय सभा निर्वाचन : समाजवादी पार्टी पनि उम्मेदवारी दिने, काँग्रेससँग तालमेलको सम्भावना


काठमाडौं, ११ पुस । सरकारबाट समर्थन फिर्ता लिएर विपक्षी दल बनेको समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

प्रदेश २ मा सत्तारुद्ध नेकपा र विपक्षी दल राष्ट्रिय जनता पार्टी(राजपा)बीच राष्ट्रिय सभा निर्वाचनका लागि २ बुंदे सहमति भएपछि समाजवादी पार्टीले एक्लै उम्मेदवारी दिने भएको छ ।

प्रदेश २ मा राष्ट्रिय सभाका लागि ४ स्थान रिक्त भएको छ ।रिक्त भएका स्थानहरुमा राजपाका २ , समाजवादी र नेपाली काँग्रेसका १/१ छन् । नेकपा र राजपाबीच तालमेल भएपछि दुवै दलले २/२ स्थान बाँडेका छन् ।राजपाले आफ्नो २ सिट जोगाउन विपक्षमा रहेरपनि सत्तारुढ दलसित तालमेल गरेको छ ।राजपाको समर्थनबाट नेकपालाई राष्ट्रिय सभामा २ सिट बढनेछ ।

पुस २० गते राष्ट्रिय सभा चुनावका लागि मनोनयन पत्र दाखिला, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ ९ गते मतदानको कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।

नेपाली काँग्रेस र समाजवादी पार्टीबीच राष्ट्रिय सभामा उम्मेदवार उठाउने विषयमा छलफल भएको छैन् । काँग्रेस आन्तरिक विवादमा अल्झिएको कारण वाहय गतिबिधि गर्न सकेको छैन् ।

‘राष्ट्रिय सभाका लागि काँग्रेससित कुनै संवाद भएको छैन्’समाजवादीका महासचिव रामसहाय यादवले भने, तर हामीले उम्मेदवारी दिन्छौ । सत्तामा रहेर प्रमुख प्रतिपक्षी दलसित तालमेल गरी चुनावमा जान नैतिक रुपमा नमिल्ने भएकाले यस अघि संवाद नभएको उनले बताए । ‘अब हामी संवाद गर्नेछौ’यादवले भने, चुनावमा हारजित भन्दापनि उम्मेदवारी दिनेछौ ।

काँग्रेसका नेताहरुले यस सम्बन्धमा मुख खोलेको छैनन् ।तर काँग्रेस पार्टीलेपनि उम्मेदवारी दिने संभावना रहेको बताइएको छ ।

‘उम्मेदवारको नाम चयन भइसकेको छैन्’समाजवादीका उपमहासचिव प्रकाश अधिकारीले भने, नेकपा र राजपाबाट आउने उम्मेदवारहरुलाई हेरेर उम्मेदवारी दिइनेछ । समाजवादी र काँग्रेसबीच तालमेल भए राजपा र नेकपाका केहि मत पाउने समाजवादी नेताको विश्वास छ ।

राष्ट्रिय सभा मतदानका लागि सत्तारुढ नेकपासित १सय २२ मत रहेको छ ।प्रमुख प्रतिपक्षी काँग्रेससित १ सय, समाजवादी पार्टीसित ८२ रहेको छ । त्यसैगरि राजपासित ७२ मत रहेको छ । नेपाली जनता दलको पालिकामा २ मत र संघीय समाजवादी पार्टी नेपालको प्रदेश सभामा १ मत रहेको छ ।नेकपा र राजपागरी १ सय ९४ मत हुनेछ । काँग्रेस र समाजवादीको १ सय ८२ मत पर्ने संभावना छ ।

समाजवादीले उम्मेदवारी दिएपछि मतदान हुनेछ ।मतदान भए नेकपाका उम्मेदवार पछाडिन सक्ने खतरा धेरैले हेर्न थालेका छन् । राष्ट्रिय सभामा नेकपाले जनमत पार्टीका अध्यक्ष डा.सी के राउतलाई नपठाउने पक्का जस्तै छ ।

सरकारबाट अलग्गिए देखि राजपासित औपचारिक र अनौपचारिक संवाद भएको छैन् । राजपाका केहि नेताहरुले समाजवादीले सरकार छोड्नुलाई सकारात्मक रुपमा लिएपनि केहि नेताहरु सरकारमा छिर्ने दाउमा लागेका छन् ।

प्रकाशित : २०७६ पुष ११, शुक्रबार १०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ