धनुषा बमकाण्ड : मृतक परिवारलाई ३ लाख दिने प्रदेश सरकारको निर्णय


जनकपुरधाम, १३ पुस । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको शक्तिशाली बम विस्फोटमा ज्यान गुमाएकाको परिवारलाई ३ लाखका दरले सहयोग गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले मृतक परिवारलाई ३ लाख र घाईतेलाई १ लाख ५० हजारको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । घटनाको १७ दिनपछि प्रदेश सरकारले मृतक परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ । घटनाको दोस्रो दिन मृतक परिवारलाई भेटेर मुख्यमन्त्री लालबाबु राउतले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

बम विस्फोट घटनामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिर दाहाल र स्थानीय राजेश्वर साह र उनका छोरा १४ वर्षीय आनन्द साहको मृत्यू भएको थियो । घटनामा राजेश्वरका अर्का एक छोरा, एक छोरी र एक प्रहरी जवान घाईते भएका थिए । उनीहरुको उपचार धरानमा भइरहेको छ ।

मृतक राजेश्वरको आँगनमा रहेको गेटमा झुण्डिएको अवस्थामा बम फेला परेको थियो । उक्त बम छोएपछि विस्फोट भएको थियो । घटना कसले घटाएको कुरा अहिलेसम्म सार्वजनिक हुन सकेका छैन । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७६ पुष १३, आईतवार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ