प्रदेश २ को संसद बैठक आज बस्दै, ९१ करोड बाँकी भुक्तानी मूल मुद्दा !


जनकपुरधाम, १४ पुस । झण्डै डेढ महिनाको अन्तरालपछि आज प्रदेश २ सभाको बैठक बस्दैछ । दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । प्रदेशमा गत कात्तिक २९ गते बसेको प्रदेशसभाको बैठक आज बस्न लागेको हो ।

यद्यपी यो बैठक पनि अवरुद्व हुने सम्भावना रहेको छ । प्रदेशका सांसदहरुले सोमबार बस्ने प्रदेशसभा बैठकबाट सरकारले भुक्तानीको प्रकृया अगाडी नबढाए सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन् । गत वर्षकै ७ सय ५४ योजनाको करिव रु ९१ करोड रकम भुत्तानी हुन बाँकी छ ।

सांसदहरुले विभिन्न उपभोक्ता समितिबाट गराएको कामको प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिना पुग्नै लाग्दा समेत भुक्तानी गरेको छैन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले सोमबार बस्ने प्रदेशसभा बैठक भन्दा पहिले सबै दलका सचेतकहरु छलफल गरी अगाडि बढने बताए । बैठकमा भुक्तानीको प्रकृया अगाडि नबढाइए सदन अवरुद्ध गर्ने उनले बताए । प्रदेश सरकारका मन्त्रीलाई कमिसन नदिएकै कारण निकासामा ढिलाई गरेको आरोप लगाउँदै उनले निकासा नभएसम्म बैठक अवरुद्व भइरहने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलले पनि सोमबार बस्ने प्रदेशसभा बैठकबाट भुक्तानी प्रकृया अगाडि नबढाइए संदन अवरुद्ध गर्ने चेतावनी दिए ।

कर्जाले उपभोक्ताहरु निकै मारमा परेको उल्लेख गर्दै नेता मण्डलले सरकारका मन्त्रीहरु मोज गरेको र सांसदहरु खान नपाएको तर्क गरे । सरकारले आफ्ना पार्टीका व्यक्तिलाई कामै नगरी पनि भुक्तानी दिएको तर अन्य पार्टीका सांसदलाई अन्यायपूर्ण व्यवहार गरेको उनले बताए । ‘सरकारले अनुगमन पनि गरेको छ,’उनले भने,‘काम भएको योजनाको त कम्तीमा भुत्तानी गर्नु प-यो नि !’

कामै नगरेकालाई भुक्तानी रोक्नु ठिकै रहेपनि पटक–पटक अनुगमन पश्चात गलत ठहर नभएको कामको समेत भुक्तानी नपाएको सत्तासिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद विदेश्वर यादव ‘बिक्की’ ले बताए । अब बस्ने प्रदेशसभा बैठकले भुत्तानीको प्रकृया अगाडी बढाउने उनले विश्वास व्यक्त गरे ।

यस्तै, सतारुढ समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादवले सरकारको बचाउ गरेका छन् । उनले अव बस्ने प्रदेश सभा बैठकले भुक्तानी प्रकृया अगाडी बढाउने बताए । सदन अवरुद्ध गरेर भुत्तानी नहुने तर्क गर्दै सरकार भुक्तानीको लागि प्रयासरत्त रहेको उनले उल्लेख गरे ।

प्रकाशित : २०७६ पुष १४, सोमबार ०९:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ