नक्कली नागरिकता लिएकी महिलालाई कारबाही गर्न धनुषाका सिडिओको आलटाल


जनकपुरधाम, १६ पुस । धनुषाकी एक महिला नक्कली नागरिकता बनाएर सिरहाका एक व्यक्तिको करोडौंको जग्गा कब्जा गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । धनुषाको साविक यज्ञभुमी गाविस ५ (हाल धनुषाधाम नगरपालिका ७)की पारो देवीले सिरहाको मिर्चैया नगरपालिका ४ बालदेव भुसकुलिया यादबको छोरी रहेको भन्दै नक्कली नागरिकता बनाएको पुष्टि भएको हो ।

उनी २०६३ सालमा खटेको जिल्ला प्रशासन कार्यालय धनुषाको टोली मार्फत नक्कली नागरिकता बनाएकी छिन् । बालदेवलाई बुवा कायम गरी बनाएको नागरिकताले उनकै २ विघा १७ कट्ठा २ धुर जग्गा कब्जाको प्रयास गरेकी थिइन् । तर उनको जग्गा कब्जा गर्ने योजना असफल भइसकेपनि नक्कली नागरिकता लिएको आधारमा उनलाई जिल्ला प्रशासन कार्यालय धनुषाले कारबाही गरेका छैन ।

मिर्चैया नगरपालिका ६ का करोडौंको जग्गा कब्जा गर्ने प्रयासमा जिल्ला अदालत सिरहामा उनले बुवा बालदेवको निधन भएको भनेर वयान दिएकी थिइन् । तर अदालतले बुवाको निधन भएपछि मृत्यू दर्ताको प्रमाण–पत्र पेश गर्न भन्यो । उनी मिर्चेया पुगेर मृत्यू दर्ताको प्रमाणपत्र बनाउन पुगेपछि जिउँदै रहेका बालदेव सचिव बलिराम यादब मार्फत रहस्य थाहा पाए । त्यसपछि उनका जेठा छोरा असेश्वर यादब वारिस भएर वर्षौसम्म मुद्दा लडे । अहिले बालदेव स्वयंम उक्त मुद्दामा अदालत धाउँदै छन् ।

ति महिलाको विषयमा रहस्य खुल्दै गएपछि उनको नागरिकता नै नक्कली रहेको हाल पुष्टि भइसकेको छ । अदालतमा समेत उनी पेश गर्न नसकेपछि किर्ते कागजको महल ३ बमोजिम कारबाही समेत गरेको छ । पीडित बालदेवका छोरा दिपनारायण यादबले ति महिलाको कागजात खोज्दै जाँदा जिल्ला प्रशासन कार्यालय धनुषाको नागरिकता रेकर्ड फाइलमा पनि अर्काको रेकर्डलाई केरमेट गरी नागरिकता बनाएको पत्ता लगाए ।

पीडित बालदेवका छोरा दिपनारायणले पछि नक्कली नागरिकता लिएकी ति महिलालाई कारबाहीका लागि पटक पटक जिल्ला प्रशासन कार्यालय धनुषा धाइरहेका छन् । तर प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले कुनै वास्ता गरेका छैन । जिल्ला प्रशासन कार्यालयले ति महिलालाई पक्राउ गर्न पटक पटक पत्र समेत लेखेको देखिएको छ । ति महिला केहि दिनअगाडी पक्राउ पनि परेकी थिइन् । तर उनलाई कारबाही नै नगरी छाडिएको छ ।

नक्कली नागरिकता लिएको प्रमाणित भइसक्दा पनि प्रजिअ कणेल कारबाही गर्न नचाहेको पीडित बालदेवका छोरा दिपनारायण यादबले गुनासो पोखे । उनले भने, ‘सिडिओ साहेवलाई भन्दा तल फाँटमा जानुस् भन्नुहुन्छ । तल फाँटमा जाँदा फाइल नै चोरी भइसकेको भनिरहेका छन् ।’ विभिन्न बहाना बनाएर सिडिओ कणेल र कर्मचारी पन्छिने गरेको गुनासो छ ।

ति महिलाको नागरिकता खारेज र कानून बमोजिम कारबाही हुनुपर्ने उनको भनाई छ । ‘जग्गा हड्पने प्रयास गरेकी ति महिलाको नागरिकता खारेज नगर्दा वहिवातमा मुद्दा लड्नु परेको छ’, उनले भने, ‘मुद्दा लड्दा लड्दै लाखौं रुपैया खर्च भइसक्यो । तर नक्कली नागरिकता बनाएर अपराध गरेकी महिला पारो देवीलाई कारबाही भएको छैन ।’

प्रकाशित : २०७६ पुष १६, बुधबार ०७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ