उखु किसानको पैसा तत्काल भुक्तानी गर्न सांसद कनोडियालाई कांग्रेसको निर्देशन


काठमाण्डौं, १७ पुस । नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर २ का संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको रकम भुक्तानी गर्न निर्देशन दिएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउन पहल गर्न निर्देशन दिएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिललेसमेत उखु किसानको भुक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण भएकाले यथाशीघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताए । कनोडिया महालक्ष्मी सुगर मिल्सका सञ्चालक हुन् ।

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत पनि दिएको छ । प्रवक्ता शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुनसक्ने बताए ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको राष्ट्रियसभा निर्वाचनसम्बन्धी प्रस्ताव पारित भएपछि यो विषयको टुंगो लाग्ने उनले बताए । बैठकमा उम्मेदवार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताए । उनले समाजवादीसँग तालमेलको ढोका खुलेको र शुक्रबारसम्मा निर्णय हुने सम्भावना रहेको बताए ।

पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने उनले दावी गरे । पार्टीभित्र देखिएका विमतिहरु थाति राखेर भएपनि राष्ट्रियसभा चुनावमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास प्रवक्ता शर्माले व्यक्त गरे ।

सरकारले ल्याएको सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा ऐनका सन्दर्भमा पनि बैठकमा कुरा उठेको छ । बिहीबारको बैठकमा असन्तुष्ट पौडेल पक्षका नेताहरु भने सहभागी भएका थिएनन् ।

प्रकाशित : २०७६ पुष १७, बिहीबार १९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ