लहानको सप्तऋषि अस्पतालमा चार नवजात शिशुको मृत्यू भएको खुलासा, डाक्टर विरुद्ध उजुरी


जयनाथ यादब/ लहान, २१ पुस । लहानस्थित सप्तऋषि अस्पतालमा डाक्टरको लापरबाहीले चार शिशुको मृत्यू भएको रहस्य बाहिरिएको छ । उक्त अस्पतालमा २ दिनमै चार नवजात शिशुको मृत्यू भएको हो ।

डाक्टरको लापरबाहीले चार सुत्केरीले शिशु गुमाएपछि कारवाहीको माग गरेको छ । कारवाहीको माग गर्दै अस्पताल, संचालक डा. पशुपति चौधरी र कार्यरत डा. सुनिल विराजीमाथी पीडितपक्षले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको बताइएको छ । उनीहरु पुस पुस २० गते जाहेरी दरखास्त दिएको प्रहरी स्रोतले जनाएको छ ।

लहान १९ का घुरन यादव, औरही १ दरैहियाका लालबहादुर यादव र सप्तरीको बलान विहुल ३ दुधेलाका मनोज साहले अपस्पताल र स्वास्थ्यकर्मी विरुद्ध जाहेरी दिएको हो । एक जना पीडितको नाम ठेगाना अस्पतालले सार्वजनिक नगरेको र आन्तरिक सम्झौता गरेर अस्पतालपक्षले मिलाएको स्रोतको दावी छ ।

शल्यक्रियामा संलग्न डाक्टरले लापरबाही गर्दा शिशुको मृत्युपछि पीडितका आफन्तले कारबाही माग गरेका छन् । उनीहरू घटनाबारे अस्पतालसँग र प्रहरी प्रशासनको रोहवरमा पटक पटक छलफल गरेका थिए । तर, अस्पतालपक्षले आफु लापरवाही नगरेको दावी गर्दै आएपछि पीडितले न्यायको लागि प्रहरीमा जाहेरी दिएका छन् ।

शुक्रबार साँझदेखि सुत्केरी व्यथाले च्यापेपछि सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाका संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहिया गाउँकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी जानकी यादव उपचारका लागि सप्तऋषि अस्पतालमा पुगेका थिए । शनिबार बिहानसम्म तीनै जनाको पालैपालो शल्यक्रिया भयो तर कसैको पनि शिशु बाँचेन ।

शल्यक्रियामा डाक्टरको लापरबाही भएको पीडितका आफन्तको आरोप छ । डाक्टर रञ्जिता जयसवालले शल्यक्रिया गरेको अस्पतालका प्रमुख डाक्टर पशुपति चौधरीको दावी रहेपनि डा।सुनिल विराजीले शल्यक्रिया गरेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी शरत थापाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

छानबिनपश्चात् दोषीमाथि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । यसैबीच, पीडितपक्षले जबसम्म हामीले न्याय पाउँदैनौ, तबसम्मको लागि सप्तऋषि अस्पताल संचालन गर्न दिदैनौ बताए । अस्पतालमा पौष २१ गते तालाबन्दी गर्दै आन्दोलनमा उत्रिने पीडितपक्षले बताए ।

  • तस्विरहरु : प्रदिप सिंह
प्रकाशित : २०७६ पुष २१, सोमबार ०९:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ