भारतीय गाडी बर्षमा मात्र ३० दिन भित्रिन दिने नियम हटाउन माग


रौतहट, २१ पुस । ३० दिन मात्रै भन्सार तिरेर नेपाल छिरेका भारतीय सबारीसाधनलाई सिमामा रोक्न थालेपछि रौतहटका राजनीतिक दलका नेताहरुले यो नियमलाई हटाउनुपर्ने माग राखेका छन् । उनले यो नियम रहिरहने भएपछि भ्रमण बर्ष सफल नहुने बताएका छन् ।

नेपाल सरकारले नेपालमा एक वर्षमा ३० दिन मात्र भारतीय सवारी साधन आउन सक्ने नियम बनाएको छ । तर, रौतहटका राजनीतिक दलका नेता एवं अगुवाहरुले यो निर्णयलाई सच्चयाउनुपर्ने माग गरेका छन् ।

सत्तासिन एवं प्रतिपक्षी दलका प्रतिनिधिहरुको टोलीले आईतबार् प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र पठाउँदै यो नियम हटाउन माग गरे । ज्ञापन पत्रमा भारतबाट नेपालमा लाखौको संख्यामा सवारी साधन मार्फतै पर्यटक भित्रिने गरेकोले वर्षमा ३० दिन मात्र भन्सार इन्ट्री गरिने प्रतिबन्धात्मक निर्णयले नेपाल सरकारको राजश्वमा समेत असर पर्ने उल्लेख गरिएको छ ।

नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी सहित नागरिक समाजका अध्यक्ष सहितको हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, “एकातर्फ नेपाल सरकार नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्ने अनि अर्को तर्फ बिदेशी सवारी साधनलाई ३० पटक मात्र नेपाल प्रवेश गर्ने अवस्था सृजना गर्नुले नेपाल भ्रमण वर्ष प्रभावित हुन्छ ।”

भ्रमण वर्षमा अधिक भन्दा अधिक पर्यटक भित्रयाउनुपर्ने भएकोले भन्सार प्रवेश साविक जस्तो गर्नुपर्ने समाजवादी पार्टीका केन्द्रीय सदस्य रेवन्त झाले बताए । ‘भ्रमण बर्ष नेपालको अर्थतन्त्रको बलियो आधार हुने भएकोले यस्ता किसिमको प्रतिबन्ध तुरुन्तै हटाउनुपर्छ’ उनले भने ।

नेपाली कांग्रेसका नेता श्रीराम यादवले सरकारले अर्थतन्त्रलाई असर पार्ने किसिमको निर्णय सच्चयाउनुपर्ने बताएका छन् ।

प्रकाशित : २०७६ पुष २१, सोमबार १४:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ