सिरहाको विद्यालयमा प्रधानाध्यापकको मनपरी, अध्यक्षले लगाएको ताला अझै खुलेन (भिडियोसहित)


लहान, २३ पुस । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा पर्ने आधारभुत विद्यालय पथलगाराका प्रधानाध्यापक र शिक्षकको चरम लापरबाही गरिरहेको पाइएको छ । शिक्षकहरु विद्यालय समयमा आउने गरेका छैन । कहिले २ बजे शिक्षक विद्यालय पुग्छन् त कहिले २ बजे छुटी नै दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार यादब स्वयंम बताउँछन् ।

अध्यक्ष यादबले प्रधानाध्यापक राजदेव यादबलाई पटक पटक सम्झाउदा पनि टेरेका छैन । उल्टै धाकधम्की देखाउने गरेको अध्यक्ष यादबको गुनासो छ । उनी भन्छन्, ‘विद्यालयमा पठन पाठनको अवस्था सुधार्न कैयौं पटक अभिभावक भेला बोलाउन आग्रह गरे । तर प्रधानाध्याक भेला बोलाउन चाहेका छैन ।’ उनले शिक्षकहरुको मनपरीले विद्यालयको अवस्था जर्जर बनेको बताए ।

विद्यालयमा खाजा कार्यक्रम समेत परेको छ । तर प्रधानाध्यापक यादबले मापदण्ड अनुसारको खाजा विद्यार्थीलाई कहिल्यै खुवाउने गरेका छैन । स्थानीयका अनुसार विद्यार्थीलाई च्यूरा र भुजा (मुरही) र कहिले काही विस्कुट पनि खुवाउँछन् । खाजा कार्यक्रममा समेत प्रधानाध्यापक यादब भ्रष्टाचार गरेको अभिभावकहरुको गुनासो छ । अध्यक्ष यादबले पनि विद्यार्थीलाई खाजामा विस्कुट र चाउँचाउँ खुवाउने गरेको भनेर विरोध गरेका छन् ।

पठन पाठनको अवस्था जर्जर बनेको र विद्यालयको भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै विद्यालयमा एक साता अगाडी विद्यालय व्यवस्थान समितिले तालाबन्दी समेत गरे । तरपनि विद्यालयका प्रधानाध्यापकलाई कुनै वास्ता छैन । उनी छलफल गरेर समस्या समाधान गर्न तयार नभएपछि एक सातादेखि विद्यालयमा ताला झुण्डिएको छ । हरहिसाव सार्वजनिक र नियमित पठन पाठनको वातावरण बनाउन प्रतिवद्ध शिक्षकहरु नभएसम्म तालाबन्दी जारी राख्ने समितिका पदाधिकारीहरुले बताएका छन् ।

https://www.youtube.com/watch?v=bHhFWtJrYuU

विद्यालय व्यवस्था समितिका अध्यक्ष यादब भन्छन्, ‘विद्यालयमा पुग्दा शिक्षक कोही कक्षामा पढाइरहेका थिएनन् । प्रधानाध्यापक यादब डेढ बजे आइपुग्यो । यति ढिलो किन आउनुभएको भनेर सोध्दा उल्टै धाक देखाउँदै मन लागेको बेला आउने भनेर जवाफ दिनुभयो । हरहिसाब सार्वजनिक गर्न पनि चाहेनन् । बाध्य भएर तालाबन्दी गर्नुपरेको छ ।’

भवन निर्माणमा भ्रष्टाचार

विद्यालय व्यवस्थापन समितिलाई जानकारी समेत नदिई प्रधानाध्यापक यादबले विद्यालयमा भवन निर्माण गराएको छ । विद्यालयमा १७ लाख ९९ हजार १ सय ५३ रुपैयाको लागतमा दुई कोठे भवन फर्निचर सहित निर्माण भएको हो ।

तर प्रधानाध्यापक यादब भवन निर्माणबारे जानकारी समेत नगराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादबको आरोप छ । उनले भने, ‘विद्यालयमा भवन निर्माण हुँदा कम्तिमा जानकारी गराउनु पथ्र्यो । तर गुपचुप गुणस्तरहीन भवन निर्माण गरी आधाभन्दा बढी रकम भ्रष्टाचार गरेको देखिन्छ ।’

भवन निर्माणको २ वर्ष नबित्दै प्लास्टर उप्किन थालेको छ । विद्यालयमा झ्याल ढोका समेत मापदण्ड अनुसार निर्माण भएको देखिदैन । भवनको अगाडी प्यासेजमै खोल्डो परेको छ । ठाउँ ठाउँमा प्लास्टर उप्किदा भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको देखिन्छ । अध्यक्ष यादबले भवन निर्माणको विषयमा छानविन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

विद्यालयमा गरिरहेको लापरबाही र भ्रष्टाचारको विषयमा प्रधानाध्यापक यादबसँग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । विद्यालयमा पुग्दा पनि उनी अनुपस्थित थिए ।

प्रकाशित : २०७६ पुष २३, बुधबार ०९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ