जनकपुरको जानकी आँखा अस्पतालको ‘मेनगेट’ खोल्न विवाद


जनकपुरधाम, २४ पुस । जानकी आँखा अस्पताल जनकपुरले मुख्य गेट पुनः बन्द गरेपछि सुधार संघर्ष समितिले धर्नालाई निरन्तरता दिएको छ । समितिका पदाधिकारीहरु बुधवार पनि धर्ना दिएको हो ।

समितिका अध्यक्ष श्याम सुन्दर झाले अस्पताल प्रशासन मुख्य गेट नखोलेपछि धर्नालाई निरन्तरता दिएको बताए । उनले सहमतीपछि गेट खोलेपनि पुनः बन्द गरेपछि धर्ना बसेको बताए । उनले भने, ‘देशमा राजा रहेन । तर यहाँको अस्पतालमा राजा छदैछ । डाइरेक्टर साहेब यहाँको राजा हुनुहुन्छ ।’ अस्पताल व्यवस्थापन समितिमा गुनासो गर्दा मेनगेट बन्द गर्ने कुनै निर्णय नभएको बताएको उनले भने ।

उनले अस्पतालको मेनगेट नखुलेको अवस्थामा गम्भिर अवस्थाको विरामी आएमा ज्यान नै जाने खतरा रहेको पनि बताए । उनले अस्पताल जस्तो संस्थाको मेनगेट बन्द गरेर राख्नु गैरकानूनी भएको पनि जिकिर गरे । उनले विधि विधान अनुसार अस्पताल संचालन नहुने गरेको पनि आरोप लगाए । आफूहरुले राखेको ८ बुंदे माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाई छ ।

अस्पतालले विगत लामो समयदेखि कुनै विज्ञापन नै नगरी गुपचुप कर्मचारी भर्ना गरेकोमा पनि अध्यक्ष झाले आपत्ति जनाए । उनले अस्पतालमा कर्मचारी भर्ना गर्दा सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने माग समेत राखेका छन् । उनले १२ वर्षदेखि नातावाद, कृपावाद तरिकाले कर्मचारी भर्ना गरेको भन्दै अब निष्पक्ष तरिकाले कर्मचारी भर्ना नगर्दा कसरी दक्ष डाक्टर आउँछन् भनेर प्रश्न गरे ।

यता, अस्पतालका प्रशासकिय अधिकृत दिपेन्द्र कुमार सिंहले कुन अस्पतालको गेट खुल्ला रहने गरेको भन्दै उल्टै प्रश्न गरे । उनले गेट खुलेका बेला अस्पतालमा सुंगुर आउने, गाइबस्तु आउने भएकाले बन्द राख्ने गरेको बताए । उनले भने, ‘गेट खुल्ला रहँदा चोरी समेत हुने गरेको छ । त्यसैले मेनगेट खोल्न सकिदैन । साइडको दुई गेट त खुल्ला छ ।’

धर्नामा बसेकाहरु व्यावसायी रहेको भन्दै औषधी महँगो रेटमा बेच्न नपाउँदा उनीहरु गेट खोल्नुपर्ने माग राखेको एक कर्मचारीले बताए । उनले भने, ‘एउटा औषधी पसलका संचालकले ४÷४ दलाल राखेका छन् । गेट खोल्ने वित्तिकै उनीहरु अस्पतालमै पसेर आतंक मच्चाउँछन् ।’

प्रकाशित : २०७६ पुष २४, बिहीबार १३:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ