सिरहामा ७६६ र सप्तरीमा ६६६ पक्की घर बनाउँदै सङ्घीय सरकार


सिरहा, २४ पुस । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७६/०७७ भित्र सिरहा र सप्तरीमा गरी विपन्न परिवारका लागि १ हजार ४ सय ३२ पक्की भवन निर्माण हुने भएको छ ।

सङ्घीय सरकारको बजेटबाट चालू आव २०७६/०७७ को असारसम्ममा सिरहा जिल्लामा ७६६ र सप्तरीमा ६६६ पक्की आवास भवन निर्माण हुने शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिए ।

बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर ३ लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप १० हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताए ।

पहिलो चरणमा डोम र मेहतर जातिका व्यक्तिको घर निर्माण गर्नका लागि सिरहाका १७ र सप्तरीका १८ वटै स्थानीय तहलाई जग्गा व्यवस्थापनबारे पत्राचार गरिसकिएको प्रमुख झाको भनाइ छ ।

सिरहामा निर्माण हुने जनता आवास भवनका लागि प्रक्रिया अघि बढाइसकेको छ । प्रदेशसभा सदस्य सुनिताराम मोचीको संयोजकत्वमा रहेको समितिको बैठक केही दिनमै बस्ने तयारी गरिएको जानकारी दिँदै प्रमुख झाले छिट्टै बैठक बसेर घर निर्माण गर्ने प्रक्रियालाई अघि बढाउने बताए ।

सिरहामा निर्माण हुने घरका लागि बजेट निकासा भइसकेको उनको भनाइ छ । – खबरहब

प्रकाशित : २०७६ पुष २४, बिहीबार १३:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ