मधेस आन्दोलन : पहिलो शहिद लहानको, प्रदेश सरकार बलिदानी दिवस मनाउने वीरगन्जमा


जनकपुरधाम, २४ पुस । प्रदेश २ सरकारले यस वर्ष पर्साको वीरगन्जमा शहीद दिवस मनाउने भएको छ । शहीदको सम्झनामा मनाइने शहीद दिवस यस वर्ष प्रदेश सरकारले वीरगन्जमा विशेष समारोहको आयोजना गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्‍को बिहीबार बसेको बैठकले माघ ५ गते शहीद दिवस भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । उनका अनुसार प्रदेश सरकारको आयोजनामा हुने शहीद दिवस समारोहमा विभिन्न शीर्ष नेताको समेत उपस्थिति रहनेछ । उक्त कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवार एवं घाइतेलाई सम्मान गर्ने पनि उनले बताए ।

२०६३ माघ ५ गते लहानमा मधेस आन्दोलनका क्रममा रमेश महतो शहीद भएपछि मधेसभर आन्दोलन चर्चेको थियो। लहानमा तत्कालीन माओवादीका कार्यकर्ताले चलाएको गोली लागेर विद्यार्थी महतोको मृत्यु भएको थियो । त्यसपछि चर्केको आन्दोलनले उग्ररूप लिएको थियो ।

मधेस आन्दोलनका पहिलो शहीद रमेश महतो भएका कारण लहानमा हरेक वर्ष मधेसवादी दलले विशेष समारोह गरी शहीद दिवस मनाए पनि यसवर्ष प्रदेश सरकार वीरगन्जमा मनाउने छ ।

गत वर्ष प्रदेश सरकारले लहानमै शहीद दिवस मनाएको थियो । दिवसको अवसरमा मधेस आन्दोलनका शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग प्रदान गनुका साथै सम्मान गरेको थियो ।

प्रकाशित : २०७६ पुष २४, बिहीबार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ