दिल्लीमा ६५ लाख चोरेर भागेका दुई नेपाली रकमसहित पक्राउ


कैलाली, २९ पुस । कैलालीमा ६५ लाख भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन् । चोरीमा संलग्न रहेको आरोपमा श्रीमान्–श्रीमतीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतको राजधानी नयाँदिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको थियो । यो गएको मंसिर ४ गतेको घटना थियो । त्यसमा नेपाली कामदारको संलग्नता रहेको आशंका गरियो । सोको जानकारी जिल्ला प्रहरी कार्यालय कैलालीलाई आयो ।

त्यसपछि खटिएको प्रहरीले सुरुमा कैलालीको गौरीगंगा नगरपालिका–२ की बिन्दा थापालाई केही रकमसहित पक्रेको थियो । उनलाई यही पुस १४ गते गौरीगंगास्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बयानपछि श्रीमान्–श्रीमती फन्दामा

थापाले दिएको बयानका आधारमा थप दुईजनालाई ६५ लाख भारुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

बाजुराको बूढीगंगा–१ का २९ वर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई पक्राउ गरिएको उनले जानकारी दिए । गौरीगंगा–२ बाट सोमबार नियन्त्रणमा लिइएका उनीहरुलाई मंगलबार सार्वजनिक गरिएको हो । प्रहरीकाअनुसार बिन्दा थापासित जयसिंह र उनकी श्रीमतीको आफन्त नाता पर्छ ।

बिन्दा गौरीगंगा–२ निवासी हुन् । उनलाई जयसिंह र उनकी श्रीमतीले एउटा टिनको बाकस लुकाएर राख्न दिए । बाकसमा के थियो, उनलाई ‘भनिएन’ । बाकसलाई सुरक्षित र गोप्य तरिकाले राख्नमात्र भनियो ।

बिन्दाको कच्चीघरमा रहेको कोठाभित्र खाटमुनि खाल्टो खनेर सो बाकस राखियो । टिनको बाकसभित्र प्लास्टिक र कपडामा बेरी लुकाइ–छिपाइ राखेको अवस्थामा ६५ लाख भारु बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका श्रीमान्–श्रीमती चोरी भएको भारतीय नागरिकको घरमा कामदारको रुपमा विगत लामो समयदेखि कार्यरत् रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ पुष २९, मंगलवार १७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ