उखुको रकम नपाएका किसानद्वारा आत्महत्याको प्रयास, किसानहरुले हारगुहार गरी बचाए


नवलपरासी, ३ माघ । इन्दिरा सुगर एण्ड एग्रो इण्डस्ट्री प्रालिले उखुको रकम भुक्तानी नदिएको भन्दै एक किसानले आत्महत्याको प्रयास गरेका छन् ।

विगत १२ दिनयता उखु किसान इन्दिराको द्वारमै दिनरात धर्ना बस्दै आइरहेका छन् । १२ दिनसम्म पनि मिल संचालकले रकम भुक्तानीका लागि कुनै चासो नदेखाएपछि धर्नामै बसेका किसान बेचु पालले आत्महत्याको प्रयास गरेका हुन् । उनी आत्महत्या गर्ने भन्दै चिनी मिलको चिम्नीमा चढेर हाम फाल्ने प्रयास गरेका थिए ।

पाललाई किसानले हारगुहार गरेर हाम फाल्नबाट बचाएको युवराज मौर्यले बताए । मिल संचालकले रकम भुक्तानी नगर्दा दैनिकी चलाउन कठिन भएको र किसानको समस्याप्रति कोही पनि गम्भीर नभएकोले आफू आत्महत्या गर्ने स्थिति आएको पालले बताए ।

धर्नामा रहेका किसानले स्काभेटर प्रयोग गरेर मिलको पूर्वी र उत्तरी गेटमा खाडल खनिदिएका छन् । उनीहरूले मिलमा कुनै पनि सवारी साधन आवतजावत गर्न नमिल्ने गरी खाडल खनिदिएका हुन् ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद मरासिनीले सरकारसँगको सहमतिका कारण माघ ७ गतेभन्दा पहिला मिल संचालकलाई केही गर्न नक्ने बताए। उनले किसानले विभिन्न चरणमा आन्दोलन गर्ने र मिलमा ताला लगाए पनि कुन आधिकारिक भन्ने पहिचान गर्न अफ्ठ्यारो भएको मरासिनीको भनाइ छ ।

किसान र सम्बन्धित निकायसँग जिल्लास्तरमा पटकपटक छलफल र सम्वादको प्रयास भइरहेको र किसानको समस्याको समाधानका लागि पहल पनि गरिरहेको मरासिनीले बताए। यसअघि जिल्ला प्रशासन कार्यालयकै पहलमा करिब ४३ लाख रकम भुक्तानी गराएको उनको भनाइ छ ।

किसानका प्रतिनिधिसँग छलफल र सम्वाद जारी रहेकोमा सरकारले तोकेको म्यादसम्म रकम भुक्तानीका लागि पर्खिनुपर्ने अवस्था रहेको उनले बताए ।

  • thahakhabar.com
प्रकाशित : २०७६ माघ ३, शुक्रबार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ