राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा डराए नेकपा–राजपा, जारी गरे ह्‍विप


काठमाडौं, ४ माघ । राष्ट्रियसभाको निर्वाचनको लागि प्रदेश २ मा तालमेल गरेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्टिय जनता पार्टी राजपाले ह्‍विप जारी गर्ने भएका छन् ।

राष्ट्रियसभाको निर्वाचनमा मधेशकेन्द्रित दलसँग सत्तारूढ र प्रतिपक्षी दलले तालमेल गरेका छन् । राष्ट्रियसभाको निर्वाचानमा मधेशलाई केन्द्रका रूपमा हेरिएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीले तालमेल गरेका छन् ।

त्यसैगरी राष्ट्रियसभाकै लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीबीच तालमेल छ । दुई मधेशवादी दल फरक–फरक पार्टीबाट निर्वाचनमा उभिएपछि प्रदेश २ मा राष्ट्रियसभाको निर्वाचनलाई विशेष महत्वकासाथ हेरिएको छ । नेकपा–राजपा तालमेलले प्रदेश २ को सरकारसमेत परिवर्तन हुनसक्ने चर्चा चुलिएको थियो ।

राजपाले राष्ट्रियसभामा वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक र अपांगताको तर्फबाट पनि पार्टीको वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंहलाई उठाएको छ । नेकपाको तर्फबाट महिलातर्फ तुलसा दाहाल र दलित समुहबाट राधेश्याम पासवानलाई उठाएको छ ।

सोही क्षेत्रमा प्रतिपक्षी दल र समाजवादी पार्टीबीचको पार्टी एकताको कारणले मत यताउता हुन सक्ने भएकाले नेकपा–राजपाले ह्‍विप जारी गर्न लागेको राजपाका संयोजक राजेन्द्र महतोले जानकारी दिए ।

सो क्षेत्रमा कांग्रेसबाट नगिना यादव र भोला पञ्जियार, रामपृत पासवान र अनिरुद्ध सिंह, समाजवादीबाट मृगेन्द्रसिंह यादव उम्मेदवार तय गरेको छ । प्रदेश २ मा कुल मत ३ सय ७९ मतदाता रहेका छन् । नेकपाका १ सय १५ जना, कांग्रेसका १ सय जना, समाजवादीका ८२ जना, राजपाका ६९ जना मतदाता र अन्य १३ जना मतदाता रहेका छन् ।

हालै सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग प्रमुख प्रतिपक्षी दलको चुनावी तालमेल भएको कारणले यस क्षेत्रमा मत दायाँबायाँ हुनसक्ने नेकपाको ठहर छ ।

  • thahakhabar.com
प्रकाशित : २०७६ माघ ४, शनिबार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ