सिरहाको भारतीय सिमा क्षेत्रमा लागुऔषध नियन्त्रण र पर्यावरण सुरक्षा गर्न मानवसाङलो


एसके कामति/ सिरहा, ६ माघ । सिरहाको सिमाक्षेत्रमा नेपाल–भारतका स्थानीय र सरकारी पदाधिकारीहरुको संयुक्त मानव साङलो प्रर्दशन गरिएको छ ।

लागुऔषधको प्रयोग, मदिरा सेवन, बालविवाह र दहेज प्रथा विरुद्धमा र पर्यावरणको सुरक्षालागि नेपाल भारतका सरकारी अधिकारी र दुवैतर्फका स्थानीयले मानव साङलो प्रर्दशन गरेको हो ।

सिरहाको खैरटोका नजिकैको सिमास्तम्भ (पिलर नम्बर ३४) को दशजगा क्षेत्रमा भारतको सिमावर्ती जनयनगर प्रखण्ड (प्रशासन)को आयोजनामा मानव साङलोको आयोजना गरिएको नेपाल भारत मैत्री संघका अध्यक्ष सन्तोष अग्रवालले बताए ।

मानव साङलोमा भारतको जयनगर प्रखण्डका एसडिओ शंकर शरण ओमी, विहार पुलिसका डिएसपी सुमित कुमार, बेला ग्राम पञ्चायतका मुखिया मदन हजरा लगायत सहभागिता जनाएका थिए ।

नेपाली पक्षवाट सिरहा नगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष महेन्द्र यादव, नेपाल प्रहरी निरिक्षक बेचन यादव, सशस्त्र प्रहरी निरिक्षक शंकर दाहाल, अधिकारकर्मी र स्थानीयको सहभागिता रहेको दीप फाउन्डेशनका सचिव दीपेन्द्र यादवले बताए ।

लागुऔषधमा बिक्री वितरण रोक्न आग्रह

मानव साङलो पश्चात दुवैतर्फका प्रशासन र अधिकारकर्मीवीच छलफल पनि भएको सचिव यादवले बताए । सिरहाको सिमावर्ती भारतीय भूमिमा निर्वाध रुपमा विक्री वितरण भैरहेको लागुऔषधमा नियन्त्रणमा रोक्न भारतीय अधिकारीहरुलाई नेपाली पक्षले आग्रह उनले बताए ।

एसडिओ ओमी, डिएसपी कुमारलाई सिरहा अधिकारकर्मी देव कुमारी महरा, दिव्या यादव, दिपेन्द्र यादव, पत्रकार बद्री नरायण यादव लगायतले सिमावर्ती क्षेत्रमा अवैध रुपमा भैरहेको लागुऔषधको व्यापारलाई रोक्न आग्रह गरे ।

मानव साङलोमा सहभागिता जनाएकोमा धन्यवाद दिदै एसडिएम ओमीले सिरहा जिल्लाको भारतीय सिमाक्षेत्रमा अवैध लागुऔषधको कारोबारलाई रोक्न प्रहरी प्रशासन खटाउने प्रतिबद्धता जनाए । उनले भने, ‘नेपाली पक्षवाट पनि हामीलाई सहयोग चाहिन्छ । हामी लागुऔषधको कारोबारलाई ध्वस्त बनाउन तयार छौं ।’

प्रकाशित : २०७६ माघ ६, सोमबार १६:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ