भारतबाट हिड्यो जयनगर–जनकपुर चल्ने रेल, फाल्गुनदेखि चल्ने पक्का


काठमाडौं, ६ माघ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ ।

भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ । यहाँ आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताए । फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढिरहेको उनको भनाइ छ। केही समय पहिले नै रेलमार्ग तयार भइसकेको छ ।

सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको छ । त्यो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उनले बताए । दुईवटा सेट खरीद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्कोआइपुग्ने उनको भनाइ छ । ‘सेट आएपछि नै सञ्चालनको तयारी हुनेछु’, उनले भने ।

सरकारले अहिले दुईवटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनले बताए ।

यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ। रासस

प्रकाशित : २०७६ माघ ६, सोमबार २०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ