ओली सरकारमा जाँदै राजपा !


जनकपुरधाम, ८ माघ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच केहि महिनाअघिसम्म एकीकरणको कुरा जोड्तोड्ले उठ्यो । अबको दुई हप्तामा, अबको एक महिनामा यी दुबै पार्टीबीच एकीकरण भइसक्ने समाचारहरुले प्राथमिकता पायो । अन्तिममा आएर राजपाका नेताहरुले समाजवादी सत्ताबाट नबाहिरिएसम्म एकीकरण हुन नसक्ने प्रतिकृया दिए । राजपाका नेता राजेन्द्र महतोले सत्ताबाट बाहिरिन नचाहेका कारण एकता हुन नसकेको बारम्बार भने ।

अहिले समाजवादी सरकारबाट बाहिरिएका छन् । अवस्था जस्तोसुकै भएपनि समाजवादी सरकारबाट बाहिरिएर संविधान संशोधनका लागि आन्दोलनमा जोड् दिइरहेको छ । यहीं बीचमा राजपा सरकारमा जाने लगभग पक्का भएको छ । सभामुखको चुनावमा नेकपाका उम्मेदबार अग्नि सापकोटाको उम्मेदबारीमा समर्थक बनेपछि राजपा सरकारमा जाने प्रष्टफुटित भएको छ ।

राजपा सरकारमा जानकै निम्ति नेकपाका सभामुख उम्मेदबार सापकोटाको समर्थक बनेका हुन् । सरकारमा प्रवेश गरेपछि राजपालाई उप–सभामुख र दुई वटा मन्त्रालय दिने आन्तरिक सहमति भएको छ । राष्ट्रियसभाको निर्वाचनपछि राजपा सरकारमा जाने दुई दलका नेताबीचको आन्तरिक सहमति भएको छ ।

यसअघि समाजवादीलाई एकीकरणका निम्ति सरकार छाड्न भनेको राजपाले समाजवादी बाहिरिएसँगै आफैं सरकारमा जान लागेको हो । समाजवादी सरकारबाट बाहिरिँदा समेत तत्काल सरकारमा नजाने अडानमा राजपाका नेताहरु थिए । उनीहरुले संविधान संशोधन हुन नसकेको, नेता÷कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज हुन नसकेको, पक्राउ परेका रेशम चौधरीसहितकालाई रिहाई नगरेसम्म सरकारमा नजाने बताएका थिए ।

यो बताइरहेकै समयमा राजपाले राष्ट्रियसभाको निर्वाचनका लागि सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गठबन्धन गरेपछि समेत सरकारमा नजाने बताएका थिए । यद्यपी समाजवादी सरकारबाट बाहिरिए लगत्तै राजपाका नेताहरुले सरकारमा जाने नेकपा नेतृत्व समक्ष इच्छा व्यक्त गरेका थिए । नेकपा समेतले राजपालाई सरकारमा ल्याएर दुई तिहाई पु¥याउने सोंच अनुसार सरकारमा ल्याउन तयार भएका छन् ।

संघीय सरकारमा जान लागेको राजपाले नेकपासँग मिलेर प्रदेश २ को सरकार पनि परिवर्तन गर्ने आन्तरिक सहमति गरेका छन् । प्रदेशमा नेकपाको ३२ र राजपाको २५ गरी ५७ सिट छ । यो सरकार संख्या बनाउन पुग्छ ।

तर, राजपाका नेताहरुले यस्तो कुनै सहमति नभएको बताएका छन् । राजपा सरकारमा गए राजपाभित्र भाँडभैलो हुने सम्भावना प्रवल छ । राजपाको अध्यक्ष मण्डलभित्रै सरकारमा जाने बिषयमा दुई थरीको धारणा छ । केहि अध्यक्ष जाने तयारी गरेका छन् भने केहि अध्यक्ष यसको बिरोधमा छन् ।

प्रकाशित : २०७६ माघ ८, बुधबार ०८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ