साँसद रेशम चौधरीलाई रिहा गर्नुपर्नेसहितका माग राखेर आन्दोलनको घोषणा


काठमाडौैं, ८ माघ । थरुहट आन्दोलनकारीमाथि लागेको मुद्दा खारेजी र कैदी बन्दीहलाई आम माफी लगायत १० बुँदे माग अघि सार्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ ।

मोर्चाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टीकापुर घटनाका विषयमा छानविन गरेको लाल आयोगको प्रतिवेदन, गृह मन्त्रालयको प्रतिवेदन र सर्वदलीय प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । साथै साँसद रशेम चौधरीलाई अविलम्ब रिहा गर्नुपर्ने माग पनि गरेको हो ।

यसैगरी, टीकापुर घटनापछि थारुहरुमाथि भएको आक्रमण र आगजनीका दोषीहरुलाई कारवाहीको माग गरिएको छ । थारु संगठनहरुसँग भएको ६ बुँदे, १० बुँदे र १३ बुँदे सहमति कार्यन्वयनका लागि पनि मोर्चाले माग गरेको छ ।

थारु, आदिवासी, जनजातिहरुको पर्वको विदा कटौती भएको भन्दै बिदा दिनुपर्ने माग गरिएको छ । थारुहरुको प्रथाजनित मूल्यमान्यताहरुलाई कानुनी मान्यता दिनुपर्ने पनि मोर्चाको माग छ ।

थरुहट भूगोलमा रहेका सरकारी कार्यालयहरुमा थारु भाषालाई कामकाजको भाषा बनाउन माग गरिएको छ भने प्रशासनिक क्षेत्रमा पूर्ण समानुपातिक व्यवस्था गर्न माग गरिएको छ । पत्रकार सम्मेलनमा मोर्चाका संयोजक लक्ष्मण थारुले आफुहरुको जायज माग पुरा नभएसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले टिकापुर घटनाको वास्तविकता आफुहरुले जान्न पाउनुपर्ने तर्क गरे ।

आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १४ गते प्रधानमन्त्री तथा नेताहरुलाई १५ दिने अल्टिमेटमसहितको ज्ञापनपत्र दिने, माघ १५ गतेदेखि प्रचारप्रसार गर्ने कार्यक्रम राखिएको छ । माघ मसान्तसम्म समितिहरु गठन गर्ने, १८ गते धनगढीमा अन्तरक्रिया गर्ने, २४ गते कूटनीतिक नियोगहरुलाई जानकारी गराउने र २५ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने जनाइएको छ ।

पहिचान पक्षधरहरुसँग सहकार्य गर्ने र फागुन १ बाट कैलालीको धनगढीमा आमरण अनसन बस्ने र काठमाडौंमा पनि अनसन गर्ने जनाइएको छ ।

प्रकाशित : २०७६ माघ ८, बुधबार १८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ