जनकपुरमा राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदै


जनकपुरधाम, ९ माघ । राष्ट्रियसभाको निर्वाचन आज (बिहीबार) हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्र नारायण स्मृति सदनमा मतदान हुँदैछ । मतदानका लागि दुई वटा केन्द्र कायम गरिएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । निर्वाचन सकिए लगत्तै गणना गर्ने तयारी गरिएको उनको भनाई छ ।

निर्वाचनमा उम्मेदबारी दिएको गठबन्धनले आफ्ना मतदातालाई छुट्टाछुट्टै ठाउँमा प्रशिक्षण दिएका छन् । नेकपा–राजपाले महोत्तरीको बर्दिवासमा र कांग्रेस–समाजवादीले जनकपुरधाममा आफ्ना मतदातालाई मतदान गर्ने विधीको बिषयमा सिकाउँदै ‘क्रस मतदान’ नगर्न सचेत गराएका छन् ।

दुबै गठबन्धनले नमूना मतदान गर्न सिकाएका छन् । मत बदर नहोस् भन्नका लागि नमूना मतदानको अभ्यास समेत गराइएको छ । नेकपा–राजपा गठबन्धनले सामूहिक रुपमै तथा कांग्रेस–समाजवादीले छुट्टाछुट्टै रुपमा प्रशिक्षणको आयोजना गरेका छन् ।

नेकपा–राजपा गठबन्धनले महोत्तरीको बर्दिवासमा, कांग्रेसले जनकपुरधामस्थित होटेल सिता प्यालेसमा र समाजवादीले जनकपुरधामकै मारबाडी सेवा समितिमा प्रशिक्षणको आयोजना गरेका छन् ।

नेकपा–राजपा गठबन्धनले मंगलबारदेखि नै आफ्ना मतदातालाई बर्दिवासमै राखेका छन् । मतदानका लागि बिहीबार एकै पटक सबैलाई जनकपुरधाम ल्याउने योजना ती गठबन्धनको छ ।

प्रदेश २ मा राष्ट्रियसभा सदस्यको चार पदका लागि निर्वाचन हुँदैछ । जसमा दुई गठबन्धनबाट आठ जनाको उम्मेदबारी परेको छ । नेकपा–राजपा र कांग्रेस–समाजवादी पार्टीले गठबन्धन बनाएर उम्मेदबारी दिएका छन् ।

निर्वाचनमा ३ सय ७९ जना मतदाताले मतदान गर्नेछन् । प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उप–प्रमुखले मतदान गर्नेछन् । प्रदेशमा १ सय ७ जना सांसद छन् भने १ सय ३६ स्थानीय तहका प्रमुख र उप–प्रमुख गरी २ सय ७२ जना छन् ।

प्रकाशित : २०७६ माघ ९, बिहीबार ०८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ