प्रचण्डले भने- सरकारकाे दुई वर्ष उत्साहवर्द्धक हुन सकेन


नवलपुर, १० माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका दुई वर्ष उत्साहवर्द्धक हुन नसकेको बताएका छन् ।

‘सरकारको दुई वर्ष उति उत्साहवर्द्धक हुन सकेन । त्यतिधेरै निरासाजनक पनि छैन । सरकार र पार्टीले गरेका राम्रा काम प्रचार गर्ने काम भएन’, उनले थपे, ‘पार्टी कमिटी क्रियाशील नभएकाले राम्रा काम स्थापित गर्ने काम हुन सकेन ।’

नवलपुरमा पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय र प्रादेशिक सरकारको गल्ती कमजोरी सच्याउन पार्टीले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । स्थानीय सरकारका कारण कतिपय जनगुनासो देखा परेको तर समाधान गर्न नसकिएको उनको भनाइ छ ।

‘अब सरकारको तीन वर्ष बाँकी छ । अन्तिम वर्ष चुनावी वर्ष भएर आउँछ । दुई वर्षमा विकास निर्माण गर्ने र समाजवादको आधार निर्माण गर्ने योजना अगाडि बढाउन जरूरी छ’, उनले भने, ‘अब युद्धस्तरमा काम अगाडि बढाउनु पर्नेछ ।’

उनले थपे, ‘सत्ताले पार्टी चलाउने हैन । सरकारलाई आफ्नो उद्देश्य मूल्य मान्यतातिर लैजानु पर्छ । केही ढिला भयो । तर बिग्रेको छैन’, उनले भने, ‘बाँकी तीन वर्ष पार्टी एकतावद्ध गरेर जनताको समस्या नजिकबाट समाधान गर्नुपर्छ ।’

प्रकाशित : २०७६ माघ १०, शुक्रबार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ