पश्चिमी वायुको प्रवेश : देशभर बर्षा र हिमपात कस्तो रहला ?


काठमाडौं, १ माघ । पश्चिमी वायुको प्रवेशसँगै देशका अधिकांश स्थानमा बर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने भएको छ ।

विशेष गरी पश्चिमका केही र मध्य तथा पूर्वका एक–दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन् । यस्तै मध्य र पूर्वको भने उच्च हिमाली भेगमा मात्रै पानी पर्ने उनको अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम छ ।

पश्चिमी भागको मौसम दिनभर नै बदली भए पनि मध्य र पूर्वको मौसम भने एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने उनले जानकारी दिइन् । यो प्रणाली बुधबारसम्ममा पूर्वमा पनि फैलने भएकाले भोलि देशभरकै मौसम बदली हुनेछ ।

मङ्गलबारभन्दा बुधबार धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन् । बिहीबारदेखि भने फेरि पानी पर्न कम हुने उनी बताउँछिन् ।

काठमाडौंमा पानी पर्ला कि नपर्ला ?

अहिले मध्य क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकामा पनि मौसम बदली भएको छ । मौसमविद् मानन्धरका अनुसार यो बदली पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले भएको हो ।

‘आज काठमाडौंमा पानी पर्ने सम्भावना चाहिँ एकदमै कम छ,’ उनले भनिन्, ‘तर मौसम खुल्दैन, घाम बादल घाम बादल हुने सम्भावना छ ।’ उनका अनुसार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस छ ।

तराईमा हट्दै हुस्सु र कुहिरो

पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेपछि तराईमा हुस्सु कुहिरो हट्दै गएको छ । यो प्रणालीको प्रभावले मौसम बदली भएर आकाशमा बादल देखिन थालेपछि हुस्सु कुहिरो नलाग्ने मौसमविद् मानन्धर बताउँछिन् । ‘अब यो प्रणालीको प्रभाव रहुन्जेल हुस्सु कुहिरो लाग्दैन,’ उनले भनिन् ।

कस्तो रहला आउँदा तीन दिनको मौसम ?

माघ १४ गते- दिउँसो : देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थान र मध्य तथ पूर्वी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ ।

राति – देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ ।

माघ १५ गते – दिउँसो : देशभर सामान्य बदली रहनेछ। पश्चिमी र मध्य भू–भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

राति – देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।


स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रकाशित : २०७६ माघ १४, मंगलवार ११:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ