धनुषा अस्पतालले मापदण्ड र ओदश लत्याएर भवन निर्माण गरिदैँ


सन्तोष यादब/ जनकपुरधाम, १७ माघ । जनकपुरधाम उपमहानगरपालिका १ मा धनुषा हस्पिटलको भवन मापदण्ड विपरित धमाधम निर्माण भइरहेको खुलेको छ ।

स्थानीयले उजुरी दिएपछि जनकपुरधाम उपमहानगरपालिकाले तत्काल भवन निर्माण नगर्न पत्राचार गरेको हो । तर पत्रलाई बेवास्ता गर्दै धमाधम भवन निर्माण कार्य जारी राखेको छ । अहिले दिनरात दर्जनौं कामदार भवन निर्माणमा लागेका छन् ।

अस्पताल संचालनका लागि भवन निर्माण गर्दा चारकिल्ला प्रमाािणत गरी स्थानीयसँग अनुमति लिनुपर्ने हुन्छ । अस्पताल संचालनमा आएपछि स्थानीयलाई असर नगर्ने भएपछि मात्र भवन निर्माणको अनुमति पाउने प्रावधान पनि छ । धनुषा हस्पिटल प्रा.लि.ले भवन निर्माण भने गुपचुप रुपमा अगाडी बढाएपछि स्थानीय आक्रोसित बनेका हुन् ।

धनुषा अस्पतालले जनकपुरधाम उपमहानगरपालिका १ को किता नम्बर ९२ रहेको १ कट्ठा ८ धुरमा भवन निर्माण थालिएको छ । हुन त भवन निर्माणका लागि उपमहानगरबाट नक्सा पास गराएको देखिन्छ । तर स्थानीय भने अनभिज्ञ छन् । इन्जिनियर, वडाध्यक्ष र प्रशासकिय अधिकृतलाई प्रलोभनमा पारि नक्सा पास गराएको स्थानीयको आरोप छ ।

अस्पताल भवन निर्माण थालेपछि स्थानीय चन्द्रदीप यादबले ०७६ पुस २४ मा उपमहानगरको न्यायिक समितिमा उजुरी दायर गरे । ‘मापदण्ड विपरित बनाउन लागेको अस्पतालको भवनको निर्माण कार्य रोक्क गरी पाउँ’ उजुरीमा उल्लेख छ । उजुरी परेपछि न्यायिक समितिले भवन निर्माण कार्य रोक्न पत्राचार गरिएको छ । तर निर्माण कार्य रोकेको छैन ।

स्रोतका अनुसार अस्पतालका प्रोपराइटर रामबाबु रमण जैसवालले भवन निर्माण रोक्न परेको उजुरीमा प्रतिउत्तर समेत ढिलो गरी जोडेका थिए । अहिले मुद्दा न्यायिक समितिमा विचराधिन छ । तर निर्माण कार्य जारी राखेपछि स्थानीय अवरोध गर्ने तयारीमा जुटेका छन् ।

उजुरीकर्ता चन्द्रदिप यादबले पैसा खाएर गुपचुप नक्सा पास गरिएको आरोप लगाए । उनले मापदण्ड विपरित भवन निर्माण सुरु गरेपछि उजुरी गरेको र मुद्दा फैसला नभएपनि कानूनलाई लत्याउँदै भवन निर्माण जारी राखेको बताए ।

प्रहरीदेखि उपमहानगरका केहि कर्मचारीसम्मका व्यक्तिलाई प्रलोभनमा पारेर अस्पताल संचालकले मापदण्ड विपरित भवन निर्माण गरिरहेको उनको भनाई छ ।

प्रकाशित : २०७६ माघ १७, शुक्रबार १०:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ