प्रदेश २ मा सशस्त्र प्रहरीले १९ वटा सीमा सुरक्षा पोष्ट थपिँदै


वीरगञ्ज, १७ माघ । सशस्त्र प्रहरीले सीमा सुरक्षा बल थप्ने तयारी गरिरहेको छ । जसअन्तर्गत बाराको दक्षिण झिटकैया, धनुषाको जनक नन्दिनी गाउँपालिका- १ इनर्वामा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट ‘बीओपी’) स्थापना भइसकेको छ ।

पर्साको मिर्जापुर, बाराको बेनौली, सप्तरीमा बोधेबसाईन लगायत अन्य १५ स्थानमा बीओपी स्थापना गर्ने तयारी भइरहेको छ । तर सशस्त्र प्रहरीले उचित स्थान पाउन सकेको छैन । बाँकी बीओपी स्थापनाका लागि स्थानीय तहसँग समन्वय भइरहेको बाहिनीमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए ।

‘प्रदेशको विभिन्न जिल्लामा १९ वटा बीओपी थप्न लागिएको हो २ वटा स्थापना भइसकेको छ, पर्सालगायतका जिल्लाबाट ठाउँ भेटिएन भन्ने कुरा आएको छ,’ डीएसपी खड्काले भने, ‘सरोकारवाला निकायसँग समन्वय गरेर बाँकी पनि छिट्टै स्थापना गर्छौ ।’

भारतसँग ४ सय ६४ कि. मी. खुल्ला सिमाना भएको प्रदेश नं २ मा यसअघि ५० वटा बीओपी छन् । १९ वटा थप्ने तयारी सशस्त्र प्रहरीले गरेको छ । प्रतिबीओपी ६.७२ कि. मी. क्षेत्रको जिम्मेवारी हुँदा सीमा सुरक्षामा अझ प्रभावकारिता आउने बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल बताउँछन् ।

उनले प्रदेश नं २ मा सीमा तथा सीमा स्तम्भहरुको सुरक्षा, सीमा क्षेत्रहरुमा हुने अबैध चोरी, निकासी, तस्करी र अबैध हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रणसँगै शान्ति सुरक्षालाई प्राथमिकतामा राखी काम भइरहेको र उपलब्धि पनि हाँसिल भएको दाबी गरे ।

उनले भने, ‘बर्दीधारी सुरक्षाकर्मी र विनाबर्दीका नागरिकवीचको सम्बन्धमा सुधार नआइकन सीमा सुरक्षा, अपराध नियन्त्रण एवं रोकथाम गर्न सकिन्न । त्यसैले हामीले आन्तरिक शुद्धीकरणमा जोड दिएका छौं ।’ – onlinekhabar

प्रकाशित : २०७६ माघ १७, शुक्रबार ११:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ