महेन्द्रनगर बमकाण्ड : घटनामा संलग्न ४ जना अझै फरार, प्रहरी नै पछाडी हटे !


जनकपुरधाम, १९ माघ । महोन्द्रनगरमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकारसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुक्ष्म अनुसन्धान गरी घटनाका मुख्य योजनाकारसहित ६ जनालाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

गएको मंसिर २९ गते मध्यराति क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित औषधि व्यवसायी राजेश्वर साहको घरमा बम विस्फोट भएको थियो । घटनामा परी घरधनी राजेश साह, उनको छोरा आनन्द साह र प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।

धनुषाका प्रहरी नायब उपरिक्षक कार्कीका अनुसार घटनाका मुख्य योजनाकार धनुषाधाम नगरपालिका–५ नौसय विघाका ६० वर्षीय मोहमद आदुल कवारी रहेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका कवारीसंगै सोही ठाउँका मोहमद २४ वर्षीय साकिल कवारी, धनुषाधाम वडा नम्बर २ का ४४ वर्षिय रामसुरेश महतो, भोजपुर जिल्लाका ३९ वर्षीय रोहित ढकाल, क्षीरेश्वरनाथ नगरपालिका–४ का युसुफ राइन, सोही ठाउँका ५८ वर्षीय राजगिर यादव रहेका छन् ।

पक्राउ परेका सबै विप्लव समुहका कार्यकता हुन् । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार घटनामा संलगन सबैजनाको पहिचान भइसकेको छ । ‘बम बनाउने र बम राख्नेको पनि पहिचान भइसकेको छ । उनीहरु पक्राउ परेको छैन,’ उनले भने, ‘अनुसन्धानमा असर पर्ने भएकाले उनीहरुको नाम सार्वजनिक गर्न मिल्दैन् । तर, छिट्टै उनीहरुलाई पनि प्रहरीले पक्राउ गर्ने छ । घटनामा संलग्न अझै ४ जना फरार छन् ।’

बम विस्फोटको कारण ‘लेनदेन’ जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसन्धानबाट बम विस्फोटको मुख्य कारण लेनदेन रहेको पाइएको छ । प्रहरीको अनुसार मृतक राजेश साहले स्थानीय व्यक्तिलाई ब्याजमा ऋण दिँदै आएका थिए ।

विप्लव समुहका कार्यकताहरुलाई पनि उनले ऋण दिएका थिए । विप्लव समुहका कार्यकर्ताले लिएको पैसाको ब्याज नदिने तर, मूलधन दिने धेरै दिनदेखि भन्दै आएका थिए । तर, राजेशले ब्याजसहित लिने भन्दै अडान लिएका थिए । पटक पटक धनी राजेशले ताकेता गरिरहेका थिए ।

विप्लव समुहका कार्यकर्ताहरु पनि पैसा दिने समय टाल्दै ब्याज नदिने र ‘बार्गेनिङ’ गरिरहेका थिए । पैसा दिन राजेशले धेरै ताकेता गरेपछि विप्लवका कार्यकर्ताहरु शुरुमा फोनमा धम्की दिएका थिए । उनीहरुको पैसा दिने नियत नदेखिएपछि राजेशले पनि फोनमा विभिन्न प्रकारका दबाब दिइरहेको थियो । विप्लव समुहका कार्यकर्ताहरुले योजना बनाएर बम राखेको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् ।

प्रकाशित : २०७६ माघ १९, आईतवार ०९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ