सप्तरीमा भगवानलाई चढाएको बासी प्रसाद खाँदा ७० बालबालिका बिरामी


सप्तरी, २० माघ । कुनै पनि चाडपर्वमा पूजापाठ गरी प्रसाद खाने चलन हाम्रो समाजको रही आएको छ । तर, प्रसाद पनि बासी खाने प्रचलनका कारण व्यक्तिको स्वास्थ्यमा प्रभाव पार्ने गरेको धेरै कमलाई नै जानकारी हुने गर्दछ हाम्रो समाजमा । जसका कारण व्यक्तिलाई बिना कारण दुःख भोग्नुपर्ने हन्छ ।

सप्तरीमा अहिले यस्तै भएको छ । बासी प्रसाद खाएका कारण ७० जना बालबालिका एकसाथ बिरामी भएका छन् । एउटै गाउँका ७० जना बालबालिका एकसाथ बिरामी भएपछि स्थानीय तहलाई स्वास्थ्य शिबिर नै चलाउनुपरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिकामा बासी प्रसाद खाँदा बालबालिकाहरु बिरामी भएका छन् । र, उनीहरुको उपचार शिबिरकै आयोजना गरेर थालनी गरिएको छ ।

सुरुङ्गा नगरपालिका ७ स्थित राष्ट्रिय प्राथमिक विद्यालय हरिपुरमा आयोजना गरिएको सरस्वती पूजाको प्रसाद खाँदा ती बालबालिका बिरामी परेको नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीले जानकारी दिए ।

विद्यालयमा निर्माण गरिएको मूर्ती सेलाएपछि बालबालिकालाई श्रीपञ्चमकीकै दिन तयार पारिएको मिठाई बाँडिएको थियो । बुनियाँ खाए लगत्तै शनिबारदेखि नै बालबालिका बिरामी पर्न थालेका छन् । आईतबार दिउँसोसम्म ७० जना बालबालिका बिरामी परेको उनले बताए ।

प्रसादको रुपमा बाँडिएको बुनियाँमा फुड् प्वाइजनका कारण उनीहरु बिरामी भएको बताइएको छ । आईतबारदेखि नगरपालिका कार्यालय र वडा कार्यालयको समन्वयमा सोही विद्यालयमा बिरामीको उपचार गर्न शिबिरको आयोजना गरिएको छ ।

नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीले बिरामी परेकामध्ये सबैको अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित : २०७६ माघ २०, सोमबार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ