नेपालगन्जमा २२ संक्रमित भएका टोलबाट स्वाब संकलन सुरु


नेपालगन्ज । नेपालगन्जमा २२ जना कोरोना संक्रमितका परिवार र टोलका व्यक्तिको थ्रोट स्वाबको नमूना संकलन सुरु भएको छ । नेपालगन्ज ८ को महेन्द्र पार्क नजिक टेन्ट टांगेर संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाबको नमूना संकलन गर्न लागिएको हो । 

सम्पर्कमा रहेका सबै ब्यक्तिको नमूना संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । सोमबार थप व्यक्तिको रिपोट नआएकाले नमूना संकलन गरिएको थिएन । मंगलबार थप सात जनामा कोराना संक्रमण पुष्टि भएपछि नमूना संकलन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

समुदायस्तरमा कोरोनाको संक्रमण रोक्नका लागि मंगलबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेको छ । लकडाउन सुरु भएदेखि नै बाँकेमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा जारी रहे पनि मंगलबारदेखि नेपाली सेनालगायतका सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् । 

मंगलबार थप पुष्टि भएका ७ जनालाई भने खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमितसँग सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले गरेको कुराकानीका आधारमा पान पसल र तरकारी मण्डीबाट सरेको आशंका गरिएको छ । कुराकानीमा अधिकांशले आफूहरु नियमित रुपमा तरकारी मण्डी (रानीतलाउस्थित) र नेपालगन्ज ८ कै पान पसलमा आउजाउ गर्ने गरेकाले त्यहीबाट सरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । 

मंगलबार एक जना ९ वर्षीया बालिकामा कोरोना संक्रमण पाइएको थियो । उनको घरबाट अरु थप दुई जनामा पनि संक्रमण देखिएको सोही टोलमा बस्ने नेपालगन्जका पूर्व उपप्रमुख समसुद्दिन सिद्धिकीले बताए । सो घरमा पहिलो संक्रमित बालबालिकालाई अरबी र उर्दू पढाउन जाने गरेको उनले प्रष्ट पारे । 

डब्लुएचओ र मन्त्रालयको टोली नेपालगन्जमा 

नेपालगन्जमा कोरोना संक्रमण न्यूनीकरण र रोकथामका लागि डब्लुएचओ, संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली नेपालगन्ज पुगेको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार समुदायमा कोरोना संक्रमण रोक्नका लागि रणनीतिक योजना बनाउनेबारे छलफल भइरहेको छ । 

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायतको टोली रहेको छ । टोलीले मंगलबार दिनभर सरोकारवालाहरुसँग छलफल गरेको थियो । 

प्रकाशित : २०७७ बैशाख २३, मंगलवार १८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ