स्वास्थ्य संकटको समयमा ‘दारु’ नपिउन जनतासँग सरकारको अपिल


जनकपुरधाम, २३ बैशाख । स्वास्थ्य संकटका समयमा मदिरा (दारु) नपिउन सर्वसधारणलाई सरकारले अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो अपिल गरेको हो ।

मदिरा सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको संकटका बेला मदिरा सेवन नगर्न भनेको छ । मदिरा सेवनबाट मुलुकका विभिन्न भागमा मानवीय क्षति भएको भन्दै अहिलेको अवस्थामा मदिराको सेवन गरेर आफूलाई थप जोखिममा नपार्न आग्रह गरिएको छ ।

मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मदिराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्ने भन्दै यसले कोरोना सङ्क्रमणको थप जोखिम बढ्ने स्पष्ट पारे ।

उनले भने, ‘मदिराले हानी गर्छ, फाइदा गर्दैन, कोरोना भाइरसलाई नष्ट गर्ने कुरै भएन, न मानिसमा छर्केर नै यसको नियन्त्रण गर्न सकिन्छ न सेवनले नै रोक्न सकिन्छ । यो दुवै हिसाबले मदिराको प्रयोग हानीकारक छ ।’

प्रवक्ता देवकोटाले मुलुक लकडाउनको अवस्थामा मदिरा सेवन गर्नुको साटो शारीरिक तथा मानसिक हिसाबले सुदृढ हुने खालका क्रियाकलाप गर्न अनुरोध गरे । अधिक मदिरापानले मानसिक समस्या पनि निम्तन सक्नेतर्फ उनले सचेत गराए ।

प्रकाशित : २०७७ बैशाख २३, मंगलवार १९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ