अमेरिकामा डेढ लाख कोरोना संक्रमितको मृत्यु, ट्रम्प चिन्तित !


एजेन्सी : अमेरिकामा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या डेढ लाख नाघेको छ। जोन्स होप्किन्स विश्वविद्यालयले त्यहाँ एक लाख ५० हजार ४४७ जना संक्रमितको मृत्यु भएको तथ्याङ्क अद्यावधिक गरेको छ।

जारी महामारीबाट अधिक प्रभावित मुलुकमध्ये दोस्रो स्थानमा रहेको ब्राजिलमा ९० हजार १३४ जना संक्रमितले ज्यान गुमाएका छन्। बुधबार थप भएको मानवीय क्षतिसँगै ब्राजिलमा ज्यान गुमाउने संक्रमितको संख्या ९० हजार नाघेको हो।

अमेरिकामा ४४ लाख १४ हजार ८३४ जना कोरोना संक्रमित भेटिएका छन्। ब्राजिलमा २५ लाख ५२ हजार २६५ जना संक्रमित फेला परेका छन्।

महामारीबाट बढी प्रभावित मुलुकको तेस्रो स्थानमा रहेको भारतले ओडिसाका कैदीबन्दीलाई रिहा गर्ने भएको छ। तीव्र गतिमा फैलिरहेको संक्रमण रोकथाम गर्न र जेलमा कैदीबन्दीको भीडभाड कर्म गर्न त्यहाँको स्थानीय सरकारले जेलमा रहेका मानिसहरुलाई रिहा गर्न लागेको हो।

२० मार्चदेखि नै त्यहाँ कैदीबन्दीलाई रिहा गर्न थालिएको र अहिलेसम्म १६ हजार ६३९ जनालाई छोडिएको जनाइएको छ।

रोगप्रतिरोधात्मक क्षमता कमजोर रहेका मानिसहरुका लागि घातक भनिएको कोरोना भाइरसबाट यतिखेर ठूलो संख्यामा युवाहरु संक्रमित हुन थालेका विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशन ह्यान्स क्लुजले बताएका छन्। उनले निकै ठूलो संख्यामा युवाहरु संक्रमित भएकाले सरकारी अधिकारीहरुलाई थप गम्भीर बन्न आग्रह गरेका छन्।

यतिखेर कोरोना संक्रमण तीव्र रुपमा फैलनुको कारण चिकित्सकहरुको सल्लाह नमान्नु भएको अमेरिकाका संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले बताएका छन्।

हङ्गकङ्गमा कोरोना भाइरस संक्रमण निकै बढेको छ। संक्रमितको संख्या बढेसँगै त्यहाँको स्वास्थ्य व्यवस्थामाथि ज्यादै दबाव परेको छ। शहरका मुख्य कार्यकारी अधिकृत क्यारी ल्यामले यो आंकडा दोहोरिइरहे स्वास्थ्य व्यवस्था नै धराशायी हुने चेतावनी दिएका छन्।

यस वर्ष निकै कम संख्यामा मुसलमानहरु हज यात्राका लागि साउदी अरबस्थित मक्का हाजी पुगेका छन्। कोरोना महामारीका कारण यसपटक जम्माजम्मी १० हजार मानिसहरुले हज गर्न पाउनेछन्। यसअघिका वर्षहरुमा करिब २० लाख मानिसहरु हजका लागि साउदी अरब पुग्ने गर्थे।

अमेरिकी विमान निर्माता कम्पनी बोइङले क्लासिक ७४७ सिरिजको विमान उत्पादन बन्द गर्ने जनाएको छ। साथै रोजगारीमा पनि भारी कटौती गर्ने भएको छ।

महामारीका कारण कैयौं मुलुकमा लगाइएको हवाई यात्रा प्रतिबन्धका कारण दुई अर्ब ४० करोड डलरभन्दा बढी आर्थिक क्षति भएको बोइङले दावी गरेको छ।

प्रकाशित : २०७७ श्रावण १५, बिहीबार ०७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ