पाकिस्तानले नयाँ नक्सामा जम्मु काश्मीरलाई समेट्यो, भारतले भन्यो- वैधता छैन्


काठमाडौं : पाकिस्तानले जम्मु काश्मिर–लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

पाकिस्तानको मन्त्रिपरिषद्ले मंगलबार उक्त भूमि पाकिस्तानको भएको दाबी गर्दै नयाँ राजनीतिक नक्सा जारी गर्न अनुमति दिएको थियो ।

नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री इमरान खानले भनेका छन्, ‘पाकिस्तानको राजनीतिक नक्साले पाकिस्तानका जनतामा खुसी प्रदान गर्नेछ । पाकिस्तान र काश्मिरका जनताको विचारधाराको पनि समर्थन गर्नेछ ।’

उनले अघिल्लो वर्ष भारतले काश्मिरमा गलत कदम उठाएको पनि पनि बताएका छन् ।  पाकिस्तानमा अब स्कुल, कलेजसहित सरकारी कार्यालयमा यही राजनीतिक नक्सा रहनेछ ।

उक्त नक्साप्रति भारतले आपत्ति जनाउँदै वैधता नभएको बताएको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त नक्साको कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको जनाएको छ ।

विदेश मन्त्रालयले भनेको छ, ‘यी हास्यास्पद दाबीको न कानुनी वैधता छ न अन्तर्राष्ट्रिय विश्वसनीयता नै ।’

भारतको विदेश मन्त्रालयले  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कथित ‘नयाँ राजनीतिक नक्सा’ सार्वजनिक गरेको देखेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, ‘यो उनको राजनीतिक मूर्खताको अभ्यास हो र यसले भारतको गुजरात राज्य र हाम्रो केन्द्र शासित जम्मु-काश्मीर र लद्दाखका क्षेत्रहरूमा दाबी गरेको छ ।’

गत वर्ष ३ नोभेम्बरमा भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै जम्मु काश्मीर र लद्दाखमा छुटेका भूभागहरु समेटेको बताएको थियो । 

प्रकाशित : २०७७ श्रावण २०, मंगलवार २२:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ