महोत्तरीको अधिकांश सडकमा खाल्डाखुल्डी, दुर्घटनाको जोखिम बढ्यो


महोत्तरी : महोत्तरीका मुख्य सबैजसो सडकको अवस्था बिग्रेको छ । यसपालि मध्य असारसँगै शुरू भएको वर्षा साउन मध्यसम्मै रहँदा त्यससँगैको बाढीले गर्दा जिल्लाका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएर जताततै पोखरीजस्तै बनेपछि यस्तो अवस्था बनेको हो ।    

बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–जलेश्वर, बर्दिवास–रौजा–जलेश्वर र सम्सी–लोहारपट्टी–जनकपुरसहितका मुख्य सडक बाढीले ठाउँठाउँ भत्काएर सवारी साधन चल्न नसक्ने भएका छन् । खाल्डैखाल्डा बढेका र सबैमा फोहर पानी जमेपछि यी सडकमा साइकल, मोटरसाइकलजस्ता साना दुई पाङ्ग्रे साधन चल्न छाडेको पनि एक महीना हुन लागेको छ । खासमा असार अन्तिम साताको ६ दिनसम्मको र साउन पहिलो साताको तीन दिने मुसलधार वर्षाले जिल्लाका सडक खाल्डा र पोखरी बनेका हुन् । यी सबै सडक हुलाकी मार्गअन्तर्गत स्तरोन्नतिको काम थालिएका सडक हुन् ।

यद्यपि काम थालिएको दुई वर्ष नाघ्दा पनि परिणाममुखी नतिजा भने नदेखिँदा सर्वसाधारणमा सडक बन्ने आश मरेको छ । यीबाहेक पूर्वपश्चिम राजमार्गको अवस्था पनि अत्यन्त नाजुक छ । पूर्वमा रातु नदीको पुलदेखि पश्चिममा बाँके नदीको पुलसम्मको महोत्तरीमा पर्ने राजमार्ग क्षेत्रमा सयौँ सङ्ख्याका ठूलठूला खाल्डा बनेका छन् ।

सडक भत्कन थालेसँगै तत्काल मर्मतसम्भारका काम नगरिँदा सडकको दूरावस्था बढेको हो । अचेल राजमार्गका यी असङ्ख्य खाल्डाखुल्डीले दुर्घटना जोखिम निकै बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास, महोत्तरीका प्रमुख तथा प्रहरी निरीक्षक कैलाश खत्री बताउँछन् ।

राजमार्गमा खाल्डाखुल्डीले बढाएको दुर्घटना जोखिम टार्न ट्राफिक प्रहरीले बजारचोक क्षेत्रमा खाल्डा बनेका ठाउँमा ‘ट्राफिक कोण’ बनाएको छ । दिनहुँ खाल्डा बढ्दै जाँदा ‘ट्राफिक कोण’ पनि कति ठाउँ राख्ने भन्ने समस्या बढेको खत्री बताउँछन् । 

गोपालप्रसाद बराल / रासस   

प्रकाशित : २०७७ श्रावण २४, शनिबार १०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ