प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरताको समाचार झुठो !


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी पदमा नियुक्तिका लागि ऊर्जा मन्त्रालयले आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नलगिएको जनाएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक पदमा आज बसेको मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई नै निरन्तरता दिएको समाचार आइरहँदा ऊर्जाले भने प्रस्ताव नै नलगेको जनाएको छ ।

‘प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रीज्यूले कसैको पनि नामलाई अगाडि लानु भएको छैन’, ऊर्जा मन्त्री वर्षमान पुनका प्रेस सल्लाहकार दयानीधि भट्टले भने, ‘प्राधिकरणको कार्यकारी निर्देशक आजैको मन्त्रिपरिषद्‍बाट निर्णय हुने सम्भावना पनि छैन ।’

कुलमानले आफ्नो पहिलो कार्यकालले यही २९ गते पूरा गर्दैछन् । त्यसअघि नै निगमको नयाँ कार्यकारी निर्देशक छान्‍नुपर्ने हुन्छ । विभागीय मन्त्रीले प्रस्ताव नलगेको अवस्थामा प्रधानमन्त्रीले सीधै नियुक्ति पनि गर्न सक्छन् । तर प्राधिकरणको नयाँ कार्यकारी निर्देशकबारे ऊर्जा मन्त्री पुन अझै अनिर्णित छन् ।

स्रोतका अनुसार अझै समय भएकाले नयाँ कार्यकारी निर्देशकबारेमा उनी छलफलकै क्रममा रहेका छन् । विभागीय मन्त्रीले नै व्यक्तिको टुंगो नगरिसकेको अवस्थामा आजैको मन्त्रिपरिषद्‍बाट निर्णय हुने सम्भावना नरहेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार २०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ