मन्त्री साहले संघीय सरकारलाई भने- मन लागेको बखत सचिवको सरूवा गर्ने प्रबृति रोक्नुस्


ललिता साह/ सप्तरी : प्रदेश सरकारको कामकाजलाई निस्तेज पार्ने नियतले ऐन विपरित संघ सरकारले मन लागेको बखत गर्दै आएको कर्मचारी सरूवा तत्काल रोक्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले माग गरेका छन् ।

शुक्रबार संघ सरकारको सामान्य प्रशासन मन्त्रीलाई एक ध्यानाकर्षण पत्र लेखेर मन्त्री साहले सरूवा रोक्न माग गरेका हुन् । छोटो अवधीमै सचिव सरुवा गर्ने प्रवृतिले प्रदेश सरकारको काम काज नै प्रभावित हुदै आएकोले ४ महिना अघि मात्रै आएको सचिवलाई पछिल्लो पटक गरिएको सरुवा तत्काल फिर्ता लिन पत्र मार्फत मन्त्री साहले माग गरेका छन् ।

संघ सरकारको संघीयता नै धरापमा पार्ने मनशायप्रति आपत्ति जनाउदै मन्त्री साहले सचिव सरुवा तत्काल स्थगित गर्न र छोटो अवधीमै सचिव तथा कर्मचारी फेर्ने प्रवृति अन्त गर्न समेत आग्रह गरेका छन् । ‘छिट्टै सचिव फेरिरहने प्रवृतिले प्रदेश सरकारको कार्यक्रमनै प्रभावित हुँदै आएको छ । पदस्थापना हुने सचिवले पनि सरुवा हुनु पर्छ । कामले पनि गति नलिने जस्ता समस्या भइरहेको छ’, मन्त्री साहले भनेका छन् ।

दुई वर्षमा मात्रै ६ जना सचिव हेरफेरले मन्त्रालयको कामकारबाहीमा हुदै आएको समस्याबारे संघ सरकारको मन्त्रीसॅग पटक पटक मौखिक रुपमा औपचारिक, अनौपचारिक छलफल हुँदै आएपनि त्यसलाई बेवास्ता गर्दै आएको मन्त्री साहको आरोप छ ।
मन्त्रालयमा सचिव हाजिर भएको केहीदिन, हप्ता, केही महिना नबित्दै संघले कर्मचारीको सरूवा, पदस्थापना गरिहाल्ने र प्रदेशको मन्त्री र मन्त्रालयमा काम गर्नलाई अर्को सचिव कहिले आउने भनि मुख ताक्दै बस्नु परेको विडम्बना रहेको मन्त्री साहको बताउँछन् ।

महामारीको चपेटाबाट गुज्रिरहेका किसानहरुको ऋण व्याज मिनाहा, धान बालीमा लागेको रोग निवारणको गर्नुपर्ने प्रयास मलखाद व्यवस्थापन गर्नु पर्ने भएपनि सचिवको एक्कासी गरिएको सरुवाले ती सबै कार्यक्रम प्रभावित हुने र यसले समग्रमा मन्त्रालयको कामकाजको लेखाजोखा प्रभावित हुने सम्भावनालाई देखाईएकोले यस्तो माग गरेको मन्त्री साहले बताए ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ