धनुषाका दुई कामदारको कतारमा विचल्ली, उद्धार गरिदिन सरकारसँग विन्ती


जनकपुरधाम : धनुषाका दुई कामदार खाडी मुलुक कतारमा विचल्लीमा परेका छन् । कोरोना संक्रमण फैलिएपछि कम्पनी बन्द हुँदा धनुषाको शहिदनगर नगरपालिका २ का सरोज यादब र कमला नगरपालिका ८ का नबिन महरा विचल्लीमा परेका हुन् ।

यादब र महरा विगत ४ वर्षदेखि कतारको जासर देवाटेरिङ नामक कम्पनीमा मजदुरको रुपमा कार्यरत थिए । तर कोरोना संक्रमणपछि मार्चदेखि कम्पनी बन्द भयो । केहि दिन उनी दुवै जनालाई खान र बस्न कम्पनीले दिएपनि अहिले बन्द गरेपछि विचल्लीमा परेका छन् ।

‘डेरामा समेत सबैथोक सकिसक्यो’, सरोज भन्छन्, ‘अहिले खान र बस्न पनि समस्या भयो । भाडाकुडा डेरामा छ । तर खाना पकाउन चामल समेत छैन । यहाँ रहेका एक भारतीयसँग एक किलो चामल मागेर दुई छाक खाए । तर अब भोकभोकै मर्ने अवस्था आयो ।’

यादब र महराको कतारको आइडीको म्याद समेत सकिसकेको छ । स्वदेश फर्किन नेपाली दुतावासमा सबै डकुमेन्ट पठाइसकेका छन् । तर अब दुतावास पुग्न गाडी भाडाका लागि रुपैया समेत आफुहरुसँग नरहेको उनीहरुले टुडेखोजसँग दुःखेसो पोखे । दुतावासमा फोन गर्दा रिसिभ नहुने गरेको उनीहरुको भनाई छ ।

स्वदेश फर्काइदिन पहल गरिदिनका लागि यादब र महराले नेपाल सरकारसँग विन्ती गरेका छन् । छिट्टै उद्धार नगरे आफुहरु भोकभाकै यहाँ मर्नुको विकल्प नरहेको सरोज बताउँछन् । उनले पहल गरिदिन विभिन्न संघसंस्थासँग समेत अपिल गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १५:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ