निषेधाज्ञामा बेनिशाको साथी किताब


काठमाण्डौ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गएको चैतमा लकडाउन घोषणा गरेपछि फिल्म निर्माण र प्रदर्शन रोकियो । जसले गर्दा कलाकारहरु फुर्सदिला भए । विरलै परिवारसँग घरमा फुर्सदले बस्न पाएका उनीहरुले पाँच महिना लामो लकडाउनमा विभिन्न काम गरेर दैनिकी विताए । कोही भान्सा झिरेर विभिन्न परिकार बनाउन सिके । कतिले भने फिल्म हेरेर दिन काटे ।

विकल्पहीन शैलीमा गरिएको लकडाउनले आम मानिसको जनजीवन कष्टकर भएपछि सरकारले साउन पहिलो साता लकडाउन अन्त्य गर्‍यो । तर, संक्रमितको संख्या बढ्न थालेपछि गएको हप्ताबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । लकडाउन खुलेपछि सामान्य जीवनमा फर्किएका कलाकारहरु निषेधाज्ञापछि भने पुनः घरको चारकुनामा नजरबन्द भएका छन् ।

लकडाउनमाझैँ निषेधाज्ञामा पनि कोही कलाकार भान्सा झिरेर विभिन्न परिकार पकाउन सिकिरहेका छन् । कोही भने फिल्म हेरेर वा पुस्तक पढेर दिन काटिरहेका छन् । अभिनेत्री बेनिशा हमाललाई निषेधाज्ञामा किताब साथी भएको छ । उनले शुक्रवार इन्स्टाग्राममा किताब पढिरहेको एक तस्विर शेयर गर्दै आफूले कुन किताब पढिरहेको अनुमान लगाउन आग्रह गरेकी छन् ।

कोरोना संक्रमण बढ्न थालेपछि घरबाट निस्कन छाडेकी उनी अहिले किताब पढेर दिन काटिरहेकी छन् । कोरोना महामारीभन्दा अगाडि उनी फिल्म मेकिङको विषयमा अध्ययन गर्न मुम्बईमा थिइन् । लकडाउन हुनुभन्दा केही हप्ता अगाडि मात्र नेपाल आएकी उनी स्थिति सामान्य भएपछि ‘झ्यानाकुटी २’ मा काम गर्ने चर्चा छ । यो फिल्ममा उनले सौगात मल्लसँग रोमान्स गर्नेछिन् ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ