गरुडामा तनाव : पूर्वमन्त्री बसे रिले अनसन ! देशभर आन्दोलन चर्काउने चेतावनी


रौतहट : प्रहरी हिरासतमा दलित युवकलाई चरम यातना दिएर प्रहरीद्धारा हत्या गरिएको भन्दै दोषी प्रहरीमाथि तत्काल कारवाही गर्नुपर्ने माग राख्दै शनिवार इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरी प्रदर्शन गरिएको छ ।

स्वस्फूर्त रुपमा दलित समुदायसहित अन्य समुदायका महिला तथा पुरुषहरु प्रहरी ज्यादतीको विरोध उत्रे । दोषी प्रहरीमाथि कारवाही, मृतकलाई उचित क्षतिपुर्ती, निष्पक्ष रुपमा छानविन सहितको माग गर्दै उनीहरु इलाका प्रहरी कार्यालय गरुडा अगाडी धर्ना दिई प्रदर्शन गरेका छन् ।

रौतहटको गरुडा नपाको बसविटी जिगडियाका २० बर्षिय युवक निरञ्जन रामको बितेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले निर्दोष व्यक्तिलाई समातेर चरम यातना दिई हत्या गरेको सकार गराउन खोज्दा यातनाबाट आहत भएको १९ बर्षिय युवक विजय रामको उपचारको क्रममा नेशनल मेडिकल कलेज विरगंजमा बुधवार राति मृत्यु भयो । त्यसपछि दलित समुदायहरु आक्रोशित भएर रौतहट प्रहरीका एसपी रबीराज खड्का, इप्रका गरुडाका डिएसपी ज्ञानकुमार महतोसहित यातनामा संलग्न प्रहरीहरुमाथि तत्काल कारवाहीको माग गर्दै आन्दोलित बनेका छन् ।

निरञ्जन राम हत्याकाण्डमा इलाका प्रहरी कार्यालय गरुडाले भदौं १ गते राति विजय रामलाई समाती मानवअधिकारको घोर उलंघन गर्दै प्लाष्टिक पाईप, रड, फामको डण्डी बाट निर्घात कुटपिट गर्दा पनि हत्या गरेको सकार नगर्दा विद्युतिय करेन्ट लगाई चरम यातना दिएको थियो । यातनापछि उनको अवस्था विग्रपछि प्रहरी निगरानीमा नेशनल मेडिकल कलेज विरगंजमा उपचारको क्रममा बुधवार राति १ बजेको समयमा मृत्यु भएको थियो ।

शनिवार गरिएको गरुदा प्रहरी कार्यालय घेराउ र प्रदर्शनमा पूर्व राज्यमन्त्री विसेन्द्र पासवानले समेत सहभागी भए । उनले बारम्बार दलितमाथि भईरहेको चरम ज्यादतीको विरोध गरे । उनले प्रहरीले दलितको हत्या गरिरहेको गम्भीर आरोप लगाउदै इलाका प्रहरी कार्यालय अगाडी रिले अनसन बसे ।

यहाँका डिएसपी, एसपी सहितका प्रहरी अधिकारीहरुलाई निलम्बन गरी मृतकलाई उचित क्षतिपुर्ती नदिएसम्म अनसन, धर्ना, घेराउ र प्रदर्शन जारी रहने पूर्वमन्त्री पासवानले चेतावनी दिए । उनले गृह मन्त्री रामबहादुर थापासहितका संघय मन्त्रीमण्डलका सदस्यहरु गरुडा घटनालाई उचित सम्बोधन नगरिए देशभरी नै दलित आन्दोलनको थालनी हुने बताए ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १९:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ