हिरासतमा रामको मृत्यू प्रकरण : गरुडामा नयाँ डिएसपी पठाइए


जनकपुरधाम : हिरासतमा यातना दिएर एक अभियुक्तको ज्यान लिएको आरोप लागेपछि इलाका प्रहरी कार्यालय गरुडा, रौतहटका इन्चार्ज डिएसपी ज्ञानकुमार महतोको जिम्मेवारी खोसिएको छ ।

डिएसपी महतोमाथि कडा कारबाहीको माग मृतकका आफन्त र स्थानीयले गरेपछि उनलाई शनिवार २ नम्बर प्रदेश प्रहरी कार्यालयमा तानियो । उनको ठाउँमा आज नयाँ डिएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ । कुँवर संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत थिए ।

गरुडा नगरपालिका वडा नम्बर ८ जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको आरोपमा विजय रामलाई प्रहरीले साउन ३२ मा पक्राउ गरेको थियो । निरन्जनको हत्या गरेको स्वीकार गर्न रामलाई प्रहरीले चरम यातना दिएका थिए ।

यातनाका कारण अवस्था गम्भिर भएपछि रामलाई तत्कालै उपचारका लागि नेशनल मेडिकल कलेज विरगन्जमा भर्ना गराएको थियो । तर उपचारकै क्रममा उनको मृत्यू भयो । उनको शरिरभरी पाइपले कुटेको निलडाम थियो ।

घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले छानविन समिति समेत बनाएको छ । आज मात्र प्रदेश २ सरकारले मृतक रामका परिवारलाई ५ लाख रुपैया क्षतिपुर्ती दिने घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबले पनि दोषीमाथि कारबाही हुने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार १८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ