कोरोना कहर : अब जेलमा रहेका कैदी बन्दीहरुलाई घर पठाउने !


काठमाडौं : कोरोना कहरका कारण जेलमा रहेका कैदी बन्दीहरु प्रताडित हुन थालेपछि सांसदहरुले घर पठाउने प्रस्ताव गरेका छन् ।

राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले पछि फर्किने सम्झौता गरेर भएपनि जेलमा रहेका कैदीबन्दीलाई घर पठाउन प्रस्ताव गरेका हुन् । कैदी र बन्दीको सुरक्षामा खटिएका कतिपय सुरक्षाकर्मी समेत कोरोना संक्रमित भइसकेका छन् । सोही कारण संंसदको राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको हो ।

सत्तारुढ र विपक्ष दुबै पक्षका सांसदहरु जेलबाट कैदी बन्दीहरुलाई तत्काल घर पठाउने विषयमा सहमत देखिएका छन् । समितिले आइतबार गरेको भर्चुअल बैठकमा सांसदहरु सहमत देखिए । जेलमा क्षमताभन्दा धेरै बन्दी रहेकाले कैद छुट गर्न मिल्नेको छुट गर्न र अन्यलाई पछि फर्काउने गरी घर पठाउन गृहमन्त्री रामबहादुर थापालाई साँसदहरुले सुझाव दिएका छन् ।

जनता समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले प्रहरीले सुरक्षा दिन नपर्ने, स्थानीय तह वा प्रहरीको निगरानीमा रहने गरी बन्दीलाई घर पठाउन सकिने बताए । कांग्रेसका सांसद अमरेश कुमार सिंहले पनि पछि फर्काउन सक्ने गरी, बोलाएको बेला आउने करार गरेर कैदीबन्दीलाई घर पठाउन सकिने बताए ।

यस्तै नेकपा का सांसद नवराज सिलवालले ५० प्रतिशत कैद भुक्तान गरिसकेका, गम्भीर प्रकृतिका मुद्दाका बाहेक अरु कैदीलाई छुट दिन सकिने बताए । मन्त्रिपरिषदबाट निर्णय गरेर कैद छुट गर्न सकिने उनको भनाई थियो ।

सांसदहरुले कोरोना संक्रमित कैदी बन्दीलाई छुट्टै राखेर उपचार गर्न गृहमन्त्री थापालाई सुझाव दिएका छन् । यता, कानुनले ५० प्रतिशत कैद भुक्तान गरेका कैदी बन्दीलाई छोडिहाल्न नसकिने अफ्ठ्यारो रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए ।

उनका अनुसार हाल देशभर २४ हजार १६३ कैदी छन् । कारागारको क्षमता भने १६ हजार जनाको मात्र रहेको छ । त्यसैले पनि कैदी बन्दीहरुलाई छाड्न गृह मन्त्री थापा समेत सकारात्मक देखिन्छ ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार २१:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ