पुजारी साहको सम्मानमा मन्दिर निर्माण सुरु, आजै गरियो शिलान्यास


गौर : रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा मन्दिर निर्माण सुरु भएको छ । पुजारी श्रीराम साहको हत्या भएकै ठाउँमा मन्दिर निर्माणका लागि आज शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका प्रदेश २ का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको पहलमा सोमवार खेसरहियामा मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, माधव नारायण नगरपालिकाकी उपप्रमुख सिमलदेवी साह र देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेलले संयुक्त रुपमा मन्दिरको शिलान्यास गरेकी छन् ।

नगर प्रमुख साहले पुजारी साहको सम्मानमा मठ र मन्दिर निर्माण गर्न लागिएको जानकारी दिइन् । उनले पुजारी हत्यारालाई जतिसक्दो चाँडो समात्न स्थानीय प्रशासनसँग आग्रह समेत गरिन् ।

माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलदेवीले निस्वार्थ सामाजिक कार्यमा लागेको पुजारी साहको हत्याले सामाजिक कार्यप्रति लाग्नेलाई निरुत्साहित गर्ने गुनासो गरिन् । उनले सामाजिक कार्यमा लागेका व्यक्तिको हत्या गर्ने जस्ता घटना दोहोरिन नदिन प्रशासनको ध्यानाकर्षण समेत गराइन् । पुजारीको हत्याले समाजमा असुरक्षा बढदै गएको उनले गुनासो समेत गरिन् ।

यस्तै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवीले पुजारीको हत्याले समाज नै मर्माहत भएको बताइन् ।

मन्दिर शिलान्यास भएको स्थानमै भदौ ३ गते बेलुका खाना खाइरहेको बेला पुजारी साहको गोली हानेर अपरिचित व्यक्तिले हत्या गरेको थियो ।

शिलान्यास कार्यक्रममा सहभागी हुन पुगेका रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त स्थानमा प्रहरी चौकी निर्माण गर्ने घोषणा गरेका छन् । आइतबार पूर्वमन्त्री साहले पुजारी हत्या भएको ठाउँमा मन्दिर मठ र प्रहरी चौकी स्थापनाको भवन निर्मांण गर्ने उद्घोष गरेका थिए ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ