ट्याक्टरमै गाँजा तस्करी, भारत लैजाँदै गर्दा १२७ प्याकेट गाँजासहित मेहता पक्राउ


टुडेखोज/ विराटनगर : कोरोना संक्रमण फैलिदै गएपछि निषेधाज्ञा जारी भएको बेला पनि गाँजा तस्करी रोकिएको छैन् । विराटनगरबाट भारततर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको हो ।

विराटनगर १७ स्थित एकीकृत भन्सार जाँच चौकीतर्फ जाने सडकमा सशस्त्र प्रहरी बलको बोडर आउट पोष्ट विराटनगर टोलीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय सुरेश कुमार मेहता छन् । समातिएको गाँजा भने १४६ किलो रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मेहता सुनसरी गढी गाँउपालिकाकाका हुन् । उनले सोमबार साँझ करिब साढे ७ बजे को २ त ६०५७ नम्बरको ट्रयाक्टरमा गाँजा भारततर्फ लग्दै गर्दा पक्राउ परेको मोरङका सशस्त्र प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलले जानकारी दिए । उनका अनुसार सुनसरीको धरानबाट भित्रिएको ट्रयाक्टरमा बरामद भएको गाँजाको परिमाण प्रदेश १ मा हालसम्मकै उच्च हो ।

गाँजा प्लाष्टिकमा प्याक गरी ट्रयाक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर लोड गरिएको थियो । उक्त फल्स बटनमा १२७ प्याकेट गाँजा लुकाइएको थियो । तर ट्रयाक्टर भने खाली अवस्थामा रहेको जस्तो देखिन्थ्यो । तर सुराकीको आधारमा गाँजा बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्रयाक्टरसहित चालकलाई सोमबार राति कारबाही अघि बढाउन सशस्त्रले ईलाका प्रहरी प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ । गाँजा र पक्राउ परेका मेहताबारे विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १३:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ